काठमाडौं, २४ भदौ । बाढीका कारण एलपी ग्यासको आपूर्ति प्रभावित भई काठमाडौं उपत्यकामा देखिएको अभावलाई मध्यनजर गर्दै सरकारले उपभोक्तालाई राहत दिने निर्णय गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास उपलब्ध नभएमा सोही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगलाई निर्देशन दिएकी छन्।
यो व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने जनाइएको छ।
सरकारले विषम परिस्थितिको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक दुःख दिने वा सरकारी निर्देशनको अवज्ञा गर्ने व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।













































