कपिलवस्तु । तौलिहवामा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ सञ्चालन भइरहेका बेला सडक पेटीसमेत व्यापारिक प्रयोजनमा प्रयोग भएपछि सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न उठेको छ।
केदारनाथ अटोमोबाइल्सको आयोजनामा भदौ २५ देखि ३० गतेसम्म बुद्धपद्म माध्यमिक विद्यालयको खेलमैदानमा मेला सञ्चालन भइरहेको छ। तर मोटरसाइकलको प्रदर्शनी तथा बिक्रीका लागि सडक पेटीमा समेत सवारीसाधन राखिएको देखिन्छ।
सडक पेटी व्यापारिक प्रयोजनमा प्रयोग हुँदा पैदल यात्रुलाई आवतजावतमा समस्या भएको स्थानीयको गुनासो छ। सार्वजनिक स्थानको यस्तो प्रयोग भइरहँदा सम्बन्धित स्थानीय निकायको प्रभावकारी अनुगमन नदेखिएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्।
स्थानीयका अनुसार एउटा व्यवसायलाई सडक पेटी प्रयोग गर्न दिइएपछि आगामी दिनमा अन्य व्यवसायिक गतिविधिले पनि सार्वजनिक स्थान ओगट्ने जोखिम बढ्न सक्छ। त्यसैले मेला सञ्चालनका क्रममा पैदल यात्रुको सहज आवागमन र सार्वजनिक स्थानको संरक्षणका लागि सम्बन्धित निकायले तत्काल अनुगमन गर्नुपर्ने माग गरिएको छ।
















































