कपिलवस्तु, भदौ २७ गते । मायादेवी गाउँपालिकाका २५ विद्यालयका २६ जना बाल विकास सहजकर्ताका लागि सञ्चालित पाँच दिने शैक्षिक सामग्री निर्माण तथा बालमैत्री कक्षा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपाल (यूएमएन) को सहयोग, मायादेवी गाउँपालिकाको समन्वय तथा दलित सामाजिक विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिममा स्थानीय स्रोतसाधनको प्रयोग गरी शैक्षिक सामग्री निर्माण, बालमैत्री कक्षा व्यवस्थापन तथा बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्ने उपायबारे सहभागीलाई व्यावहारिक प्रशिक्षण दिइएको थियो ।
तालिम समापन कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख रामकृष्ण तेलीले शिक्षाको गुणस्तर सुधारका लागि तालिमबाट प्राप्त सीपलाई कक्षाकोठामा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले तालिमलाई औपचारिकतामा सीमित नगरी बालबालिकाको सिकाइमा प्रत्यक्ष उपयोग गर्नुपर्ने बताउनुभयो ।
सिवाइ सिसि परियोजनाका परियोजना व्यवस्थापक तथा प्रशिक्षक शान्ति थापाले बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्न शैक्षिक सामग्रीको प्रयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले तालिममा निर्माण गरिएका चार्टलगायत सामग्री कक्षाकोठामा प्रयोग गर्न आग्रह गर्नुभयो ।
सहभागी आमिना खातुनले तालिमबाट उपयोगी तथा व्यवहारिक सीप हासिल भएको बताउँदै सिकेका सीपलाई कक्षाकोठामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले परियोजना समाप्त भएपछि पनि स्थानीय सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासीले बालबालिकालाई सहज र प्रभावकारी रूपमा सिक्न सहयोग पुग्ने सामग्री निर्माण तथा प्रयोगका लागि तालिम उपयोगी भएको बताउनुभयो । उहाँले परियोजना सीमित अवधिका हुने भएकाले कार्यक्रमको दिगोपनाका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।
आयोजकका अनुसार तालिमबाट बाल विकास सहजकर्ताले शैक्षिक सामग्री निर्माण, बालमैत्री कक्षा व्यवस्थापन तथा बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउने व्यावहारिक सीप हासिल गरेका छन् । कार्यक्रमको सञ्चालन परियोजनाका शिक्षा अधिकृत भोरिक केवटले गर्नुभएको थियो ।
















































