ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाले स्थानीय किसानलाई कृषिमा आकर्षित गर्ने र उनीहरुले उत्पादन गरेको कृषिउपज (वस्तु) को बजारीकरणमा सहयोग गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सेवा सुरु गरेको हो ।
कृषि उत्पादनमा बिचौलियाको प्रभाव अन्त्य गर्न तथा कृषिउपज र बजारबिच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न पनि पालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र फक्ताङ्लुङ गाउँपालिकाको लागत साझेदारीमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालन गर्न सुरु गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार कृषि एम्बुलेन्स सेवा सुरु गरेसँगै पालिकावासी नागरिकले उत्पादन गरेको कृषिउपज अर्थात कृषिजन्य वस्तुको सङ्कलन, ढुवानी र बजारीकरणमा सहज हुने भएको छ । कृषि एम्बुलेन्स सेवाले किसानलाई व्यावसायिक तथा आधुनिक कृषि प्रणालीतर्फ प्रोत्साहित गर्नमा सहयोग पुगेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।
यस्तै, कृषिमार्फत किसानको आम्दानी वृद्धि गर्न, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा सुधार गर्नमा पनि कृषि एम्बुलेन्सले टेवा पुग्ने पालिकाको विश्वास रहेको छ । निर्वाहमुखी कृषि प्रणालीमा आवद्ध किसानलाई व्यावसायिक र आत्मनिर्भर बन्न तथा प्रतिस्पर्धी बजार स्थापित गर्नमा कृषि एम्बुलेन्स सेवा प्रभावकारी हुनेमा आफू ढुक्क रहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।
यता जिल्लाकै दुर्गम हिमाली तथा विकट भू–बनावट रहेको फक्ताङ्लुङ गाउँपालिकामा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएपछि स्थानीय किसानले खुशी व्यक्त गरेका छन् । गाउँमा आलु, गोलभेडा, करेला, काउलीजस्ता तरकारीजन्य वस्तु तथा सुन्तला, कागती र अन्य फलफूलजन्य कृषि उपजहरु उत्पादन भए पनि बजारको पहुँच पु¥याउन नसकिरहेको बेला सुरु भएको कृषि एम्बुलेन्स सेवाले राहत मिलेको किसानको भनाइ छ ।
गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएपछि गाउँका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुहरु खेर नजाने र सोचेभन्दा राम्रो मूल्य पाउने अवस्था सिर्जना हुनेमा आफूहरु ढुक्क रहेको फक्ताङ्लुङ –४ इखाबुका किसान विक्रम लिम्बूले बताउनुभयो ।
लिम्बूका अनुसार कृषि कर्मबाट आत्मनिर्भरसँगै राम्रो आम्दानी लिन सकिने सम्भावना भएर पनि हालसम्म उत्पादित कृषिजन्य वस्तु बिक्री गर्न वा बजारको पहुँचसम्म पु¥याउन सकिएको थिएन । कृषि एम्बुलेन्स सेवा सुरु भएपछि भने किसानले कृषिमा गर्दैआएको लगानीबाट राम्रो फाइदा लिने र कृषिबाट अत्मनिर्भर हुँदै आम्दानी बढाउने सपना पूरा हुने भएको लिम्बूले बताउनुभयो ।
यता पालिकाले विभिन्न स्थानमा कृषिजन्य वस्तुको सङ्कलन केन्द्र तोकेको र उक्त केन्द्रहरुबाट सङ्कलित कृषिउपज सिधै कृषि एम्बुलेन्समार्फत बजारसम्म पु¥याउने योजना बनाएको जनाएको छ ।
















































