काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुक्रबार बिहान प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबिच भेटवार्ता भएको हो।
महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। उहाँले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गर्नुभयो। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभयो। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो
प्रधानमन्त्री शाहले केही बेरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार महासभाको सम्बोधनमा प्रधानमन्त्री शाहले विशेषगरी गत अगस्ट २६ मा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले जलवायु परिवर्तनबाट न्यून योगदान गरे पनि त्यसको असमान प्रभाव भोगिरहेको विषय अन्तराष्ट्रिय समुदायसमक्ष राख्ने तयारी रहेको छ।
प्रधानमन्त्रीले जलवायु न्याय, जलवायुजन्य क्षतिको क्षतिपूर्ति तथा विपद्पछिको पुनर्निर्माण र उत्थानशीलताका लागि अन्तर्राष्ट्रिय सहयोग, वित्त तथा प्रविधिको आवश्यकता औँल्याउने अपेक्षा गरिएको छ।
नेपालले हिमाली मुलुकका रूपमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर तथा त्यसले जनजीवन, पूर्वाधार र जीविकोपार्जनमा पारेको प्रभावलाई पनि अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने तयारी गरेको छ।
















































