परासी: नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता गाउँ निरन्तरको वर्षाका कारण डुबानमा परेको छ। नारायणी नदीमा आएको बाढी गाउँमा पसेपछि १ सय ५० घर पूर्णरूपमा डुबानमा परेका छन्।
हालसम्म ७५ घरका ३ सय जनाको उद्धार गरी सुरक्षित आश्रयस्थलमा सारिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका प्रमुख (एसपी) गोविन्दबहादुर खातीले जानकारी दिए। उनका अनुसार स्थानीय बासिन्दाका साथै पशुचौपायाहरूलाई पनि आश्रयस्थलमा लगिएको छ। उद्धार गरिएका सबै थारू टोलका बासिन्दा हुन्।
सुस्ताका अन्य टोलका झन्डै १ सय ५० घरधुरी पनि पूर्णरूपमा डुबानमा परेको एसपी खातीले बताए। नारायणी नदीपारिको सुस्ता गाउँमा २ सय २० घरधुरीका १४ सय बासिन्दाको बसोबास छ। घरभित्र आधासम्म बाढीको पानी पसेको छ। डुबानमा परेकाहरूलाई सुरक्षित स्थानमा आउन आग्रह गर्दासमेत नमानेर खाटमाथि बसिरहेकाले सुरक्षाकर्मीहरू स्वयं भित्रै पुगेर उनीहरूलाई आश्रयस्थलमा लगेका हुन्।
यसैबीच, बाढीका कारण सुस्तास्थित नेपाल प्रहरीको कार्यालय र सशस्त्र प्रहरी बलको बिओपी समेत डुबानमा परेको छ।
















































