दाङ, असोज १४ गते । दसैँ–तिहारलाई लक्षित गर्दै घोराहीमा मल्चिङ प्रविधिबाट व्यावसायिक फूलखेती गरिएको छ ।
घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित डिभाइन एग्रो फर्मले यस वर्ष दुई बिघा १७ कट्ठा क्षेत्रफलमा फूलखेती गरेको हो । तिहारसम्म फूल फुल्ने गरी खेती गरिएको फर्म सञ्चालक दशरथ साउँदले बताउनुभयो ।
विगत सात वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएको फर्मले मल्चिङ प्रविधिद्धारा फूलखेती गर्दै आएको छ ।
“दसैँ–तिहारलाई लक्षित गरेर यस वर्ष दुई बिघा १७ कट्ठामा फूलखेती गरेका छौँ,” फर्म सञ्चालक साउँदले भन्नुभयो, “गत वर्ष एक सिजनमा फूल बिक्रीबाट करिब १० लाख रुपियाँ आम्दानी भएको थियो ।” गत वर्षको आम्दानीबाट यस वर्ष फूल खेती थप विस्तार गरिएको उहाँले बताउनुभयो ।
फर्मले उत्पादन गरेका फूल तथा फलफूल दाङको स्थानीय बजारसँगै बाहिर, काठमाण्डौ, बुटवल, नेपालगञ्ज लगायत बजारमा समेत बिक्री गर्दै आएको छ । बजारको मागअनुसार उत्पादन बढाउँदै लगेको फर्मले दाङसँगै कोहलपुर र धनगढीमा समेत कृषि उत्पादन सुरु गरेको सञ्चालक उहाँले जानकारी दिनुभयो ।
उहाँले कपिलवस्तुका भास्कर पंगेनीसँगको साझेदारीमा सात वर्षअघि छ लाख रुपियाँ लगानीबाट व्यावसायिक कृषि सुरु गर्नुभएको थियो । अहिले व्यवसायमा २५ लाख रुपियाँभन्दा बढी लगानी पुगेको उहाँले जानकारी दिनुभयो ।
कृषि विषय अध्ययन गर्नुभएका साउँदले आधुनिक प्रविधिको प्रयोग गरी स्ट्रबेरीसहित विभिन्न प्रजातिका फलफूल तथा फूलखेती गर्दै आउनुभएको छ । फूलखेतीबाट हुने आम्दानीसँगै फर्मले कृषि उत्पादनलाई पर्यटनसँग जोड्ने प्रयाससमेत थालेको छ ।
यसै वर्षदेखि फर्म परिसरमा मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको छ । करिब १५ कट्ठा क्षेत्रफलमा रहेको पार्क परिसरमा विभिन्न प्रजातिका फूलहरू ढकमक फुलेका छन् ।
कृषि उत्पादनको अवलोकनसँगै मनोरञ्जनका लागि आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याइएको सञ्चालक साउँदले बताउनुभयो ।
घोराही बजारदेखि करिब तीन किलोमिटर दक्षिण धारपानी सडकसँगै रहेको फर्ममा उत्पादित फूल तथा फलफूलको प्रत्यक्ष अवलोकनसँगै मनोरञ्जन गर्न सकिने भएकाले कृषि र पर्यटनलाई जोडेर नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
















































