रेसुङ्गा (गुल्मी), असोज १४ गते । गुल्मीको रिडी हुँदै सुर्खेत जोड्ने राष्ट्रिय राजमार्ग अन्तर्गत रिडी–खज्र्याङ–बलकोटको ८६ प्रतिशत काम सकिएको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीमार्फत रिडी–खज्र्याङ–बलकोट खण्डको २६.६७ किलोमिटर सडक कालोपत्रे गर्ने काम अगाडि बढेको छ ।
यो सडकको शर्मा सगुन जेभीले २०७८ असार २७ गते निर्माण सम्झौता गरेको थियो । निर्माण व्यवसायीले म्याद थपसहित २०८४ वैशाख २८ गतेभित्र काम सक्नुपर्ने छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर प्रभात तिवारीका अनुसार एक अर्ब नौ करोड ५० लाख १६ हजार ९६० रुपियाँको लागतमा सडक कालोपत्रे हुँदै छ ।
अहिलेसम्म ८४.४४ प्रतिशत वित्तीय प्रगति भएको तिवारीले जानकारी दिनुभयो । रिडी–खज्र्याङ–बलकोट खण्डको २६.६७ किलोमिटरमध्ये गुल्मी खण्डको ११.५ किलोमिटर कालोपत्रे भएको छ । बाँकी काम चालु आर्थिक वर्षमा अगाडि बढ्ने कार्यालयले जनाएको छ । यो सडकलाई खज्र्याङबाट सालझन्डी–तम्घास सडकले छुन्छ । खज्र्याङ–तम्घासको सबै खण्ड कालोपत्रे भएको छ । मदन भण्डारी राजमार्गको रिडी–तम्घास खण्डको विकल्पका रूपमा गुल्मी पश्चिमका यातायातका साधनले यो सडक प्रयोग गर्ने गरेका छन् ।
तम्घासदेखि सिमीचौर–खज्र्याङ हुँदै रिडी पुगिने भएकाले पाल्पा, बुटवल जाने यातायातका साधनले रिडी–खज्र्याङ–बलकोट खण्ड प्रयोग गर्न थालेको व्यवसायी तथा छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका स्थानीय जनक पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “गुल्मेलीका लागि गौरवको विषय जिल्लाको पहाडबाट मदन भण्डारी र तराईबाट रिडी–सुर्खेत सडकको काम धमाधम भइरहेको छ । दुवै सडक हाम्रा समृद्धि मार्ग हुन् ।”
मदन भण्डारी राजमार्गको नजिक र रिडी–सुर्खेत राजमार्ग तथा सालझन्डी–पटौटी हुँदै तम्घास जोड्ने सडकका कारण खज्र्याङ र आसपासका क्षेत्रमा सहरीकरण, उद्यम विकास र कृषि तथा पशुपालनका गतिविधि बढिरहेका छन् । गुल्मी दरबार गाउँपालिका–६, चारपालका नारायण अर्यालले खज्र्याङमा अस्पताल मात्रै नभएर ठुला रिसोर्ट र व्यावसायिक कृषि फार्म राजमार्गकै कारण खुलेको बताउनुभयो । उहाँले दुवै सडकको गन्तव्य रिडी पुगेपछि कालीगण्डकी कोरिडोरसँग भएकाले व्यावसायिक योजना बिस्तारै कार्यान्वयनमा देखिन थालेको बताउनुभयो ।
















































