कपिलवस्तु । बाणगंगा सिँचाइ जल उपभोक्ता संस्था मूल समितिका अध्यक्ष मोहन शर्माले कृषकलाई सहज रूपमा सिँचाइ सुविधा उपलब्ध गराउन आफू अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
संस्थाको दशौँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सिँचाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन आफू निरन्तर लागिपर्ने बताउनुभयो। कृषकको आवश्यकता पूरा गर्न सिँचाइ प्रणालीको उचित व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस कार्यमा कार्यालयका कर्मचारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
सिँचाइ व्यवस्थापनमा खटिने कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै अध्यक्ष शर्माले उनीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रामदेव पाण्डेयलगायत कर्मचारीलाई प्रशंसापत्रद्वारा सम्मानसमेत गरिएको थियो।
सभामा बाणगंगा सिँचाइ व्यवस्थापन डिभिजनका निमित्त प्रमुख विवेक नेपालीले परम्परागत सिँचाइ व्यवस्थापनलाई निरन्तरता दिन सके कृषकलाई ठूलो टेवा पुग्ने बताउनुभयो। जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई गोविन्द आचार्यले कृषि क्षेत्रमा परिवर्तन ल्याउन सिँचाइको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो।
संस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न सभामा सचिव विनोद चौधरीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिल कुमार शुक्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। जगदीश पाण्डेयले सञ्चालन गर्नुभएको कार्यक्रममा साधारण सदस्यदेखि एमएफडी अध्यक्षहरूसम्मको सहभागिता रहेको थियो।
















































