तौलिहवा । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा पक्षको कपिलवस्तु क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा गोपीकृष्ण शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख) को सभापतिमा जगदीश पाण्डेय (दिनेश) निर्विरोध चयन हुनुभएको छ ।
तौलिहवास्थित शंकर होटलमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट शर्मा क्षेत्रीय सभापतिमा निर्विरोध चयन हुनुभएको हो । यद्यपि, प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (क) अन्तर्गतका केही वडामा अधिवेशन हुन बाँकी रहेकाले पूर्ण क्षेत्रीय कार्यसमिति चयन गर्न नसकिएको निर्वाचन समितिले जनाएको छ ।
निर्विरोध निर्वाचित क्षेत्रीय सभापति शर्माले आफ्नो समूहको क्षेत्रीय अधिवेशनलगायत जिल्ला तथा अन्य तहका अधिवेशनमा नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता देखिएको बताउनुभयो ।
यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख) को सभापतिमा पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँसँगै उपसभापतिमा भगवानदास यादव र इजरार मुसलमान, सचिवमा देवेश जयसवाल तथा सहसचिवमा कुद्दुस गद्दी र सुरेन्द्र सिंह निर्विरोध चयन हुनुभएको जनाइएको छ ।
पाण्डेय यसअघि असोज ८ गते सम्पन्न यशोधरा गाउँपालिकाको पालिका अधिवेशनमा सभापति पदमा पराजित हुनुभएको थियो । संस्थापन पक्षको उक्त अधिवेशनमा चन्द्रप्रकाश दुबे ९८ मत प्राप्त गरी विजयी हुँदा पाण्डेयले ८४ मत प्राप्त गर्नुभएको थियो ।
देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो । निर्धारित कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरिएको हो ।
देउवा पक्षको कार्यतालिकाअनुसार कात्तिक २५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम रहेको छ ।
















































