कपिलवस्तु । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा समेत पर्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको उच्च सतर्कतासम्बन्धी सूचनालाई आधार मान्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मंगलबार एक सूचना जारी गरी सम्भावित विपद्वाबाट जोगिन आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको हो।
सूचनाअनुसार आगामी कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा चक्रवातको प्रभाव देखिने सम्भावना छ। कात्तिक १३ र १४ गते लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा यसको प्रभाव बढी पर्न सक्ने तथा चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै किसानलाई कात्तिक १२ गते अगावै धानबाली काट्ने, भित्र्याउने तथा सुरक्षित राख्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ। त्यस्तै, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले सुझाव दिएको छ।
जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा सर्न र आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।
यसैगरी, सुरक्षा निकाय, स्थानीय तह, अत्यावश्यक सेवा प्रदायक निकाय, रेडक्रस तथा स्वयंसेवकलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन भनिएको छ। उपलब्ध जनशक्ति, दमकल, एम्बुलेन्स, डोजरलगायतका स्रोतसाधन तत्काल परिचालन गर्न सकिने अवस्थामा राख्न पनि सूचनामा उल्लेख छ।
नेपाल मौसम विज्ञान विभागलगायत आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीको पालना गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा उद्धार तथा सहयोगका लागि ११४९ र १०० नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
सम्भावित विपदबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकारी निकाय, स्थानीय तह तथा सर्वसाधारण सबैले समयमै सावधानी अपनाउन आवश्यक रहेको प्रशासनले जनाएको छ।
















































