कपिलवस्तु । दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । प्रशासनले मूर्ति विसर्जनमा डिजे बजाउन, पटका पड्काउन, जुवातास खेल्न तथा सट्टेबाजी गर्न रोक लगाएको छ । त्यस्तै, देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तोयन ारायण सुवेदीले सूचना जारी गर्दै मूर्ति विसर्जन गर्दा सुरक्षा निकायसँगको समन्वयमा निर्धारित मार्ग र समयतालिकाअनुसार सूर्यास्तअघि नै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मूर्ति विसर्जनका नाममा डिजे, ठूलो आवाज निकाल्ने साउण्ड सिस्टम तथा ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोग गर्नसमेत निषेध गरिएको छ ।
त्यसैगरी, जातजाति, धर्म, सम्प्रदाय तथा समुदायबीच द्वेष र वैमनस्यता फैलाउने, धार्मिक तथा सामाजिक भावनामा आघात पु¥याउने र सामाजिक सद्भाव बिगार्ने सामग्री सामाजिक सञ्जाल तथा अन्य सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण र शेयर गर्न नपाइने प्रशासनले जनाएको छ ।
प्रशासनले कात्तिक २५ गते मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सेवन नगर्न आग्रह गरेको छ । मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, झैझगडा गर्ने तथा शान्ति सुरक्षामा असर पर्ने गतिविधि गर्नसमेत रोक लगाइएको छ ।
चाडपर्वका अवसरमा जुवातास, सट्टेबाजी तथा बाजीजन्य गतिविधि सञ्चालन र सहभागिता निषेध गरिएको छ । पटका, आतसबाजी, बम, झिरझिरेलगायत विस्फोटक तथा आगलागीको जोखिम भएका पदार्थ प्रयोग, पड्काउने, भण्डारण र ओसारपसार गर्नसमेत नपाइने सूचनामा उल्लेख छ ।
परम्परागत देउसीभैलो, भजनकीर्तन, नाचगान तथा सांस्कृतिक कार्यक्रम मर्यादित र शान्तिपूर्ण रूपमा राति ९ बजेसम्म सम्पन्न गर्नुपर्नेछ ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले चाडपर्वका बेला धार्मिक तथा सांस्कृतिक परम्पराको सम्मान गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रशासनको निर्देशन पालना गरी दीपावली तथा छठ पर्व सभ्य, सुरक्षित र सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्लावासीलाई आग्रह गर्नुभयो ।
जारी निर्देशन तथा प्रचलित कानुनविपरीत गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
















































