कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा मेयर पदका उम्मेदवार डा. नीरज पाण्डेले गाउँपालिकाको समग्र विकास, सुशासन, रोजगारी सिर्जना र नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
क्लिनिकल फार्मासिस्ट तथा कानुनका विद्यार्थीसमेत रहेका पाण्डेले गाउँपालिकामा वर्षौंदेखि देखिएका आधारभूत समस्याको समाधान गर्न आफूले उम्मेदवारी दिन लागेको बताएका छन्।
उनले गाउँपालिकाको भवन १० वर्षसम्म निर्माण हुन नसक्नु, जिल्लामै कमजोर शैक्षिक अवस्था रहनु, स्वास्थ्य संस्थामा जनशक्ति तथा औषधिको अभाव हुनु, किसानले मलखादको समस्या भोग्नु, गाउँपालिकाको आफ्नै सडक पूर्वाधार नहुनु र बेरोजगारी समस्या समाधान हुन नसक्नु आफ्नो उम्मेदवारीका मुख्य आधार रहेको उल्लेख गरेका छन्।
पाण्डेले सार्वजनिक गरेको चुनावी प्रतिबद्धताअनुसार निर्वाचित भएको १०० दिनभित्र गाउँपालिकाका प्रत्येक वडाबाट ५० जनाका दरले विभिन्न क्षेत्रमा रोजगारीको व्यवस्था गर्ने योजना रहेको छ। त्यस्तै, गाउँपालिका भवन निर्माणका लागि लबनीमा आफ्नो व्यक्तिगत तीन कट्ठा जग्गा दान गर्ने र पहिलो आर्थिक वर्षभित्र भवन निर्माणको टेन्डर प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्।
कृषि क्षेत्रलाई प्राथमिकता दिँदै एक बिघाभन्दा कम जग्गा भएका किसानको सम्पूर्ण कर मिनाहा गर्ने, विद्युत् महसुलमा छुट उपलब्ध गराउने तथा गाउँपालिकावासीलाई विभिन्न करबाट राहत दिने योजना पनि उनले अघि सारेका छन्।
शिक्षा सुधारका लागि गाउँपालिकाका ६ वटै वडामा एक–एक वटा माध्यमिक र आधारभूत विद्यालय गरी १२ वटा सामुदायिक विद्यालय सञ्चालन गर्ने, ५० विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था गर्ने तथा कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउन विद्यालयलाई अनुदान उपलब्ध गराउने उनको प्रतिबद्धता छ।
त्यसैगरी, १०० दिनभित्र आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन गरी गाउँपालिकाको अस्पताल सञ्चालनमा ल्याउने उनले बताएका छन्। युवालाई प्रविधिसँग जोड्न प्रत्येक गाउँमा निःशुल्क वाइफाइ जडान गर्ने र सरसफाइलाई व्यवस्थित बनाउन प्रत्येक गाउँमा डस्टबिन राख्ने योजना पनि पाण्डेले सार्वजनिक गरेका छन्।
‘सुखी, समृद्ध र आत्मनिर्भर शुद्धोधन’ निर्माण गर्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका पाण्डेले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्। उनले सार्वजनिक गरेका यी प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान नागरिकको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
















































