मिथिलाञ्चलसहित देशभर आजदेखि आस्थाको महापर्व छठ सुरु भएको छ। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गर्दैछन्।
छठ पर्वको पहिलो दिनलाई शरीर र मन शुद्ध गर्ने दिनका रूपमा लिइन्छ। यस दिन व्रतालुहरू नदी, पोखरी तथा जलाशयमा स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गर्छन्। यस विधिलाई ‘नहाय–खाय’ भनिन्छ।
नहाय–खायका दिन व्रतालुहरूले ‘अरबा–अरबाइन’ खाने परम्परा छ। छठ पर्व सम्पन्न नभएसम्म मरुवा (कोदो), मसुरोको दाल, प्याज र लसुनलगायतका खानेकुरा त्याग गर्ने प्रचलन रहेको छ।
छठ पर्वलाई लक्षित गर्दै जनकपुरधामसहित तराई मधेसका विभिन्न स्थानमा तयारी तीव्र पारिएको छ। स्थानीयवासीहरू पोखरी, नदी, कुवा तथा अन्य जलाशयको सरसफाइ, सजावट र व्यवस्थापनमा जुटेका छन्।
छठको दोस्रो दिन शनिबार व्रतालुहरू दिनभर उपवास बसेर साँझ चामल र सक्खरबाट तयार पारिएको खीर भगवान्लाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्छन्। यस विधिलाई ‘खरना’ भनिन्छ।
त्यस्तै, तेस्रो दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।
बिहानीको अर्घ्यपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी उपवास तोड्नेछन्। यस विधिलाई ‘पारण’ भनिन्छ।
















































