कपिलवस्तु । न्यायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएका विद्वान व्यक्तित्व रउफ अहमद खाँले आगामी स्थानीय तह निर्वाचनमा कपिलवस्तु नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
उहाँले बुद्धदर्शन, सामाजिक सद्भाव, सुशासन, पारदर्शिता र समतामूलक समाज निर्माणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउनुभएको छ। उहाले अघि सारेका भावी योजनामा कपिलवस्तुको ऐतिहासिक तथा बौद्ध सम्पदाको संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र आधुनिक पूर्वाधार विकाससम्मका विषय समेटिएका छन्।
खाँले भगवान गौतम बुद्धका अहिंसा, करुणा, मैत्री, प्रज्ञा र मध्यम मार्गका आदर्शलाई सामाजिक सद्भाव तथा शान्तिपूर्ण सहअस्तित्वको आधार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
त्यसैगरी कपिलवस्तुका ऐतिहासिक, पुरातात्त्विक तथा बौद्ध सम्पदाको संरक्षण, संवर्द्धन र अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि कपिलवस्तु विकास कोष स्थापना गर्न पहल गर्ने योजना अघि सार्नुभएको छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थललाई अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उहाँको प्राथमिकता रहेको छ।
उहाँको योजनामा प्रत्येक बालबालिकाका लागि गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा र युवाका लागि सीपमूलक तालिम तथा रोजगारी सिर्जना गर्ने विषय पनि समेटिएका छन्।
कृषिको आधुनिकीकरण, सिँचाइ सुविधा, मलखाद तथा गुणस्तरीय बिउबिजनको उपलब्धता, कृषि बजार व्यवस्थापन र किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
त्यस्तै स्वच्छ खानेपानी, सरसफाइ, ढल व्यवस्थापन, हरियाली, वातावरण संरक्षण, सडक, पुल, नाला, विद्युत् तथा सञ्चार पूर्वाधारको योजनाबद्ध विकासलाई प्राथमिकता दिने बताउनुभएको छ।
जाति, भाषा, धर्म, संस्कृति र सम्प्रदायबीच समान सम्मान तथा सहिष्णुता कायम गर्दै सर्वधर्म समभावको भावना विकास गर्ने, भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी बजेट र जनसहभागितामूलक विकास प्रणाली स्थापित गर्ने उहाँको लक्ष्य रहेको छ।
नगरपालिकालाई जनताको सेवक संस्थाका रूपमा स्थापित गरी जनताको आवश्यकता र प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढाउने उहाँको मूल प्रतिबद्धता छ।
खाँले आफ्नो मूल संकल्पका रूपमा “बुद्धको भूमि, शान्तिको सन्देश; समताको भावना, विकासको परिवेश। सुशासन, समृद्धि र सद्भावको अभियान; समुन्नत कपिलवस्तु हाम्रो साझा पहिचान” भन्ने नारा अघि सार्नुभएको छ।
न्यायिक क्षेत्रमा योगदान पुर्याउनुभएका खाँको उम्मेदवारी घोषणासँगै कपिलवस्तु नगरपालिकाको आगामी राजनीतिक प्रतिस्पर्धामा नयाँ चर्चा सुरु भएको छ।
















































