कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको वडा नं. ८ बेलौहास्थित श्री रामजानकी आधारभूत विद्यालयका विद्यार्थी र अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरिएको छ।
विद्यालयमा अध्ययनरत ८४ जना विद्यार्थीलाई पोशाक, टोपी, स्विटर, कापी, कलम, झोला र पेन्सिल वितरण गरिएको हो। त्यसैगरी उनीहरूका अभिभावकलाई चामल र तेल उपलब्ध गराइएको थियो।
कार्यक्रममा नगरप्रमुख सुदीप पौडेलले यस्ता सहयोगले बालबालिकालाई पढाइप्रति थप उत्साहित बनाउनुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताउनुभयो। विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउनु प्रशंसनीय कार्य भएको उहाँको भनाइ थियो।
राइट टु एक्सेस नेपालका विनोद पौडेलले यस्ता कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
कार्यक्रममा लुम्बिनी विकास कोषका पूर्वसदस्य राजेश ज्ञवालीले फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवा र सहयोगका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो। उहाँले आगामी दिनमा शिक्षामा आधारित कार्यक्रमलाई प्राथमिकता दिइने जानकारी दिनुभयो।
शिक्षक राम असेसर यादवको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोज यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
















































