साझा न्यूज । कपिलवस्तु
कोभिड संक्रमण कालमा फ्रन्ट लाईनमा रही कोभिड संक्रमण विरुद्ध नागरिक अभियानमा सक्रियताका साथ महत्वपूर्ण योगदान पुर्याएको भन्दै साझा प्रयास अभियानका संयोजक रवि ठाकुरलाई अमेरिका स्थित एक संस्थाले सम्मान पत्र पठाएको छ । अमेरिका स्थित एशोसिएसन अफ ईमरजेन्सी रिसर्च ईन अमेरिका नामक संस्थाले अभियन्ता ठाकुरलाई सम्मान गरेको हो ।
कोभिड संक्रमण हटे पछि कार्यक्रमको दिन तय गरेर अभियन्ता ठाकुरलाई औपचारिक कार्यक्रम विच अमेरिकामा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अमेरिकन संस्थाबाट प्राप्त गरेको यो सम्मानबाट आफुमा थप जिम्मेवारी बढेको बोध भएको अभियन्ता ठाकुरले बताए । कोभिड संक्रमण विरुद्ध अक्सिजनको व्यवस्थापन, स्वास्थ्य संस्थाहरुमा सहयोग, कोभिड संक्रमितका परिवार तथा सर्वसाधारणलाई निशुल्क खाना नास्ताको व्यवस्था, लक डाउनको मारमा परेका विपन्न परिवारलाई राहत वितरण लगायतका काममा अभियन्ता ठाकुर सक्रिय भई लागेका छन् ।
कोभिड संक्रमणको त्रासमा सवै घर घरमै सुरक्षित ढंगबाट बसिरहेका बेला अभियन्ता ठाकुर भने कोभिड विरुद्धको अभियानमा सक्रियताका साथ फ्रन्टलाईनमा उभिएर काम गरिरहेका छन् । अभियन्ता ठाकुर जिल्लाका क्रियाशील अधिकारकर्मी तथा नागरिक अभियन्ता समेत हुन् । मधेश मानव अधिकार गृहको अध्यक्ष समेत रहेका ठाकुर विपन्न समुदायको एक भरपर्दो सहयोगीको रुपमा जिल्लामा परिचित छन् ।