कपिलवस्तु, ३१ भदौ । नेपाली कांग्रेस कपिलवस्तुमा १५औँ महाधिवेशनको तयारी अघि बढिरहेका बेला पार्टीभित्र देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै ‘एकताको महाधिवेशन’ गर्नुपर्ने आवाज उठेको छ।
होटल शंकरमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला, क्षेत्र तथा पालिका तहका नेता–कार्यकर्ताले पार्टी सञ्चालनमा विधि, विधान र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
‘एकताको महाधिवेशन पक्षधर समूह’ले जारी गरेको संयुक्त विज्ञप्तिमा तल्लो तहबाट भएका वैधानिक सिफारिसको सम्मान गर्न, निर्वाचित पदाधिकारीको अनधिकृत फेरबदल रोक्न तथा महाधिवेशनका सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराइएको छ।
समूहले विगतका निर्णय तथा कारबाही प्रक्रियालाई लिएर पनि प्रश्न उठाएको छ। उनीहरूका अनुसार पछिल्ला वर्षहरूमा सात सयभन्दा बढी नेता–कार्यकर्तामाथि स्पष्टीकरण तथा कारबाहीको प्रक्रिया अघि बढाइएको छ। क्षेत्रीय तथा इकाइ तहका निर्वाचित सभापतिहरूलाई समेत व्यक्तिगत वा गुटगत स्वार्थका आधारमा हटाउने तथा पद परिवर्तन गर्ने गरिएको आरोप समूहले लगाएको छ।
विगतको निर्वाचनमा स्थानीय तहबाट सर्वसम्मत रूपमा सिफारिस गरिएका उम्मेदवारलाई बेवास्ता गर्दै केन्द्रबाट टिकट वितरण गरिएको विषयले पनि कार्यकर्तामा असन्तुष्टि बढाएको समूहको दाबी छ।
समूहले असन्तुष्ट नेता–कार्यकर्तालाई सांगठनिक प्रक्रियामा समेट्दै सबै पक्षको सहभागिता र सहमतिमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ। माग सम्बोधन नभए महाधिवेशनका कार्यक्रम बहिष्कार गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।
पत्रकार सम्मेलनमा सहभागी नेताहरूले व्यक्तिको प्रभावभन्दा पार्टीको विधि, विधान र कार्यकर्ताको सहभागितालाई केन्द्रमा राख्नुपर्ने बताएका थिए।
कार्यक्रममा जिल्ला सहसचिव मो. वजीह अरसद, क्षेत्र नं. १ का सभापति अब्दुल मन्नान खान, प्रदेश सदस्य उम्मेदवार डोलकराम घिमिरे, क्षेत्रीय प्रदेश सभापति दुर्गा बहादुर केसी, कपिलवस्तु नगरपालिका सभापति खुर्शिद अहमद खाँ, जिल्ला सदस्यहरू हरि राज घिमिरे र कमल राज आचार्य, शुद्धोधन गाउँपालिका सभापति विश्वम्भर प्रसाद कुर्मी तथा मायादेवी गाउँपालिका सभापति शेलेंनद्र दिबेदी लगायत सहभागी थिए।
















































