कपिलवस्तु । सेवानिवृत्त सरकारी इन्जिनियर त्रियुगी नारायण जैसवालले कपिलवस्तुको यशोधरा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। यशोधरा गाउँपालिका–६ रंगपुर निवासी जैसवालले आफ्नो लामो सरकारी सेवा अनुभव, प्राविधिक ज्ञान र विकासप्रतिको प्रतिबद्धतालाई स्थानीय तहको विकासमा उपयोग गर्ने उद्देश्यसहित अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो।
सिँचाइ प्रणाली तथा जल व्यवस्थापनका क्षेत्रमा विशेष अनुभव हासिल गर्नुभएका जैसवालले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र ग्रामीण पूर्वाधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्नुभएको छ। गाउँपालिकाका सबै वडामा व्यवस्थित सिँचाइ सुविधा विस्तार गरी नहर तथा कुलोको अन्तिम छेउ (टेल–एन्ड) सम्म वर्षैभरि पर्याप्त पानी पुर्याउने योजना अघि सार्नुभएको छ। यसबाट कृषि उत्पादन र किसानको आयआर्जन बढाउने उहाँको लक्ष्य छ।
शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकामा प्राविधिक क्याम्पस स्थापना तथा सञ्चालन गर्ने, विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउने र विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि दैनिक योग र ध्यानलाई प्राथमिकता दिने योजना उहाँले सार्वजनिक गर्नुभएको छ। साथै प्रत्येक विद्यालयमा मेडिकल अफिसरको व्यवस्था, प्राथमिक स्वास्थ्य सेवा तथा व्यवस्थित खेलमैदान निर्माण गर्ने अवधारणा पनि उहाँको योजनामा समेटिएको छ। पालिका क्षेत्रका मदरसाहरूलाई सुविधा सम्पन्न गर्ने लक्ष्य उहाकाे छ ।
त्यसैगरी स्थानीय स्रोतसाधनको उपयोग गर्दै साना तथा मझौला उद्योगलाई अनुदान र सहुलियतमार्फत प्रोत्साहन गर्ने तथा स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने उहाँको योजना छ। स्वास्थ्य क्षेत्रअन्तर्गत प्रत्येक वडामा सामान्य स्वास्थ्य तथा प्रसूति सेवा केन्द्र सञ्चालन गर्ने र गाउँपालिकास्तरमा शल्यक्रियासहितको प्रसूति सेवा उपलब्ध गराउने सुविधायुक्त केन्द्र स्थापना गर्ने लक्ष्य उहाँले राख्नुभएको छ।
जैसवालले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, रोजगारी र ग्रामीण पूर्वाधारको विकाससँगै स्वच्छ, पारदर्शी तथा जनमुखी शासन प्रणालीलाई प्राथमिकता दिने बताउनुभएको छ। अनुभव, इमानदारी र विकासप्रतिको प्रतिबद्धतालाई आफ्नो पहिचानका रूपमा प्रस्तुत गर्दै उहाँले सरकारी सेवाबाट प्राप्त प्राविधिक ज्ञान र अनुभव समाजको हितमा लगाउने उद्देश्य रहेको उल्लेख गर्नुभएको छ ।
















































