कपिलवस्तु, २४ कात्तिक । बुद्ध धर्मावलम्बीको महत्वपूर्ण धार्मिक अनुष्ठान तीनमहिने वर्षावास यस वर्ष विधिवत् रूपमा सम्पन्न भएको छ । श्रावण पूर्णिमादेखि असोज पूर्णिमासम्म सञ्चालन हुने वर्षावासमा लुम्बिनी, प्राचीन कपिलवस्तु, रामग्राम र महावन लगायतका बुद्धस्थलमा बसेका ३५ जना भिक्षुले धार्मिक अनुष्ठान सहित वर्षावास पूरा गरेका हुन् ।
वर्षावास समापनका अवसरमा तिलौराकोटस्थित थाई मन्दिरमा ३५ जना थाई उपासकले भिक्षुहरूलाई चिवर (भिक्षुको वस्त्र) तथा आवश्यक सामग्री दान गरेका थिए ।
वर्षायामका तीन महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न कठिन हुने भएकाले भिक्षुहरू एकै स्थानमा बसेर ध्यान, पूजा, धर्मदेशना तथा अन्य धार्मिक गतिविधिमा सहभागी हुने परम्परालाई वर्षावास भनिन्छ ।
वाट थाई निग्रोधाराम नेपालका सचिव राजेश ज्ञवालीका अनुसार प्राचीन कपिलवस्तुको तिलौराकोट र निग्रोधाराम (कुदान) मा गरी आठ जना भिक्षुले वर्षावास बसेका थिए । तिलौराकोटमा भिक्षु पराजुकित अनन्तको नेतृत्वमा चार जना र कुदानमा भिक्षु परा संकारित बुद्धोको नेतृत्वमा चार जना वर्षावास बसेको उहाँले जानकारी दिनुभयो ।
प्राचीन तिलौराकोट भगवान् गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको स्थल हो भने निग्रोधाराम (कुदान) ज्ञान प्राप्तिपछि बुद्धले पहिलोपटक कपिलवस्तु फर्केर आफ्ना माता पितासँग भेट गरेको ऐतिहासिक स्थल हो ।
लुम्बिनीमा विगत १५ वर्षदेखि स्थानीय समुदायको सहभागितामा वर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोत (बोधी विदेश) ले भगवान् बुद्धका उपदेश र शिक्षालाई जनसमुदायमाझ पु¥याउर्न वर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रम आयोजना गरिँदै आएको बताउनुभयो ।
वर्षावास अवधिभर स्थानीयवासीलाई पञ्चशील ग्रहण, बुद्धपूजा र धर्मदेशना कार्यक्रममा सहभागी गराउँदै बुद्धका उपदेशसँग जोड्ने प्रयास गरिएको उहाँले साझा न्यूजलाई बताउनुभयो ।
वर्षावासका क्रममा भिक्षुहरूले बिहान–साँझ ध्यान गर्ने, परित्राण पाठ गर्ने तथा बुद्ध, धर्म र सङ्घको गुण स्मरण गर्दै पूजाआजा गर्ने परम्परा रहेको छ । यस अवधिमा भिक्षुहरूले सामान्यतः बिहान एक छाक भोजन गर्ने र सकेसम्म स्थानीयवासीबाट प्राप्त भिक्षामा निर्भर रहने धार्मिक मान्यता छ । वर्षावास बस्दा पुण्य प्राप्त हुने जनविश्वास समेत रहेको छ ।
















































