कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाको अध्यक्ष पदमा परमेश्वर पाठकले उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पाठकले विकास, सुशासन र सामाजिक एकतालाई मुख्य एजेन्डा बनाएका छन्।
३६ वर्षीय पाठकले आफ्नो राजनीतिक यात्रा २०६२ सालदेखि नेपाल विद्यार्थी संघबाट सुरु गरेका हुन्। २२ वर्षको राजनीतिक अनुभव रहेको उल्लेख गरेका उनी तरुण दल हुँदै नेपाली कांग्रेसको जिल्ला सदस्य र हाल नेपाली कांग्रेस संस्थापन ईतर समुह प्रदेश क्षेत्रीय सभापतिको जिम्मेवारीमा छन्।
पाठकले सडक, खानेपानी, सिँचाइ तथा भौतिक पूर्वाधारको विकास, गुणस्तरीय शिक्षा, युवाका लागि रोजगारी, स्वास्थ्य सेवा र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेका छन्।
त्यसैगरी कृषि तथा पशुपालनको प्रवर्द्धन, उद्यमशीलताको विकास र पारदर्शी, इमानदार तथा जनमुखी शासन व्यवस्था कायम गर्ने उनको योजना छ।
जातीय तथा सामाजिक विभेदको अन्त्य गर्दै गाउँपालिकामा सामाजिक एकता कायम गर्ने संकल्पसहित जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता पनि पाठकले व्यक्त गरेका छन्।
















































