काठमाडौं । धनुषामा सरकारी नम्बर प्लेटको स्कार्पिओ पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्। जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको धनुषा प्रहरीले जनाएको छ।
आज बिहान ५ बजे ढल्केवरबाट जनकपुर तर्फ जाँदै गरेको स्कार्पिओ तिव्रगतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको मृत्यु भएको छ।
पाँचजना घाइतेको उपचार प्रादेशिक अस्पतालमै भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए।