–उर्मिला यादव ‘यात्री’,पश्चिम नवलपरासी
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज सोमबार १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको अनुसार बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलिया स्थित परासी – नारायण चोक हुलाकी सडक खण्डमा लु १६ प ३७२९ नम्बरको मोटरसाईकललाई शंका लागेर रोकेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ बस्ने ३५ बर्षिय योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने बर्ष २७ को समिर खान रहेका छन् ।
पक्राउ परेका यादव र खानको साथबाट भारतिय २ हजारका २०७ थान नोट (४ लाख १४ हजार भा.रु.), भारतिय ५ सयका ९७२ थान नोट ( ४ लाख ८६ हजार भा.रु.) गरी ९ लाख भारतिय रुपैया साथै नेपाली १ हजारका १ हजार ६९ थान नोट (१० लाख ६९ हजार रुपैयाँ) र ५ सयका १५ सय ६२ थान नोट ( ७ लाख ८१ हजार रुपैयाँ) गरी १८ लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादव र खानले उक्त रकमको श्रोत खुलाउन नसकेकाले उक्त रकम शंकास्पद रहेको प्रहरीले जनाएको छ।
















































