काठमाडौँ –नेपाल आइडलको चौथो संस्करणका लागि आज देखि डिजिटल अडिसन हुँदैछ।
नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालीटी सो नेपाल आइडलले सिजन फोरका लागि डिजिटल अडिसन भदौ १ गतेदेखि सुरु गर्न लागेको हो।
कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त रुपमा ल्याउने तयारी गरेको प्रोडक्सन टिमले सुरुमा डिजिटल अडिसनमा जाने निर्णय गरेको हो।
डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने छन्। नेपाल आइडलको चौथो संस्करणका लागि डिजिटल अडिसन घरमै बसेर दिन सकिनेछ।
अडिसनका लागि मोवाइलको प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ र आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ।
भदौ १ गतेदेखि सुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। कोरोना महामारीकै समयमा दर्शकलाई गीत संगीतबाट मनोरञ्जन दिने र उत्साह जगाउने उद्देश्यसहित डिजिटल अडिसन गर्न लागिएको नेपाल आइडलले जनाएको छ।