काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको सिफारिसमा भएको संसद विघटनका सम्बन्धमा परेका २९ मुद्दा सर्वाेच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको छ।
प्रधानन्यायाधीशसहित यसअघि संसद पुनःस्थापना आदेश दिएका न्यायाधीशको बेञ्चमा रिटको सुनुवाइ आज भएको थियो । उक्त इजलासले सरोकारवाला शेरबहादुर देउवा सहितको निवेदनमा सुनुवाई भएर फैसला भैसकेको भन्दै अन्य रिट खारेज गरेको हो ।
संसद विघटन भएपछि राष्ट्रपतिको कदम असंवैधानिक तथा संसदबाट सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै विघटन गरेको भन्दै सर्वोच्च अदालतमा २९ वटा सार्वजनिक सरोकारका निवेदन परेका थिए ।
ती मुद्दाहरुको सुनुवाई १४६ जना सांसदको तर्फबाट दायर मुद्दाको टुंगो लगाउने न्यायाधीशहरु नै रहेको संवैधानिक इजलासमा भएको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा रहेका थिए ।