साझा न्यूज । कपिलवस्तु
नेपाली कांग्रेसको १४ औं महाअधिवेशन नजिकदै गर्दा कपिलवस्तु कांग्रेसमा पनि चुनावी सरगर्मी बढ्न थालेको छ । बुथ, नगर, क्षेत्र र जिल्ला अधिवेशनका लागि तल्लो देखि जिल्ला तह सम्मका नेताहरुले आपसी गुटगत बैठक र छलफलहरुमा व्यस्त छन् । जिल्ला सभापति पदका लागि नेपाली कांग्रेका पुर्व सभापतिहरु सुधाकर पाण्डेय र राजेश आचार्यको नाम चर्चामा छ ।
जिल्लाका आम नेता तथा कार्यकर्ताको नजर भने यति बेला जिल्ला सभापति पदमा सुधाकर पाण्डेय र राजेश आचार्य विच नै केन्द्रित छ । नेता पाण्डेय नेपाली कांग्रेस भित्र कोईराला गुट र आचार्य देउवा गुटका नेताको रुपमा परिचित छन् ।
आम कार्यकर्ता माझ नेता सुधाकर पाण्डेय ईमान्दार र निष्ठावान् नेताका रुपमा परिचित छन् । पछिल्ला वर्षहरुमा मधेश आन्दोलनसंगै मुलुकमा राजनैतिक परिवर्तन हुंदा समेत मधेश आन्दोलनको प्रभावमा नपरी नेपाली कांग्रेसकै सिद्धान्तमा अडिक रही पार्टी संगठन गर्दै आएका नेताका रुपमा पाण्डेय परिचित छन् । नेता पाण्डेय सांसद बृजेश कुमार गुप्तासंग निकै झिनो मतले पराजित भएका र जिल्लामा बृजेश कुमार गुप्तालाई काउण्टर दिन सक्ने नेता हुन् ।
प्रदेश सभा निर्वाचनमा समेत नेपाली कांग्रेसकै विद्रोही नेताका कारण नेता पाण्डेय झिनो मतबाट पराजित भएका थिए । जिल्लामा कुशल र ईमान्दार नेताका रुपमा परिचित नेता पाण्डेयलाई यस पटक नेपाली कांग्रेसको जिल्ला नेतृत्व सुम्पिन नेता कार्यकर्ताहरु पनि अग्रसर देखिएका छन् । तर नेता पाण्डेयलाई जिल्ला सभापतिको पदमा आसिन हुन त्यति सजिलो भने देखिदैन । तर नेता सुधाकर पाण्डेयले भने आफुले २ पटक सम्म वर्तमान सभापति सुरेन्द्र राज आचार्यलाई सघाएका कारण यस पटक आफुलाई सभापति आचार्यले सहयोग गर्नु पर्ने दाबी गरे ।
उनका सामु अर्का उम्मेदवार राजेश आचार्य पनि बलिया प्रतिस्पर्धीका रुपमा देखिएका छन् । नेपाल विद्यार्थी संघको राजनितिबाट आफ्नो राजनैतिक जीवन शुरु गरेका नेता आचार्य नेपाली कांग्रेसका तर्फबाट तानाशाही पंचायती शासन व्यवस्था विरुद्ध लड्दै आएका ईमान्दार तथा संघर्षशील नेता हुन् । नेता आचार्यको पक्षमा देउवा पक्षधर नेताहरुको सहयोग हुने छ ।
जिल्ला सभापति सुरेन्द्र राज आचार्य, नेताहरु दीप कुमार उपाध्याय, कमलेश कुमार शर्मा, अतहर कमाल, दिर्घ नारायण पाण्डेय लगायतका नेताहरुको धु्रवीकरण कुन उम्मेदवार तर्फ हुने छ त्यसले पनि जिल्ला सभापति पदको चयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसका साथै नेपाली कांग्रेसमा समाहित भएका गच्छदार समुह र राप्रपा समुहका नेताहरुको भूमिका पनि उत्तिकै उल्लेखनीय देखिने छ ।
















































