साझा न्यूज । तौलिहवा
रक्षा वन्धनको अवसर पारेर लियो क्लब अफ कपिलवस्तुका दिदी बैनीहरुले सदरमुकाम तौलिहवा स्थित बालगृहका भाईहरुलाई रक्षा वन्धन (राखी) लगाई दिएका छन् । बाल गृहमा रहेका भाईहरुलाई लियो क्लब अफ कपिलवस्तुको तर्फबाट कार्यक्रम संयोजक मनिषा गैरे, सह संयोजक मेरिना मिदुन मगर र अस्मिता खरालले रक्षा बन्धन बाधेर फलफुल तथा मिठाई प्रदान गरेका छन् । बालगृहमा रहेका भाईहरुलाई पनि रक्षा बन्धन बांधिदिने हाम्रा दिदी बहिनीहरु पनि छन् भन्ने खुशी दिलाउन यो कार्यक्रम गरिएको कार्यक्रम संयोजक मनिषा गैरेले बताईन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस यूनियनका सभापति तथा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिका सदस्य गोपाल भण्डारीले बालगृहमा रहेका बालबालिकाहरुलाई यसै गरी समाजका हरेक क्षेत्रका अगुवाहरुले सम्झनु पर्ने र बालबालिकाहरुसंग मिलेर खुशी साटासाट गर्दा बालबालिकाहरुमा घरवार विछोडको पीडा तथा एक्लोपनको अन्त्य हुने बताएका छन् ।
समुदाय स्तरमा सामाजिक कार्यमा अग्रसर हुदै आएको लियो क्लब अफ कपिलवस्तुले यस अघि जिल्लामा कोभिड संक्रमण विरुद्ध सहयोग कार्यक्रम, राहत खाद्यान्न वितरण कार्यक्रम तथा अन्य सामाजिक कार्यमा निरन्तर संलग्न हुदै आएको क्लबका सचिव लक्ष्मण सापकोटाले बताए । आफ्नो दैनिक दिनचर्याबाट केही समय निकालेर सामाजिक कार्यमा समर्पित हुदै आएको र आगामी दिनमा बालगृहका बालबालिकाहरुको सहयोगका लागि पहल गर्दै जाने क्लबका अध्यक्ष पाण्डव भण्डारीले बताए ।
सो अवसरमा क्लबका सहसचिव मधुसुदन गन्धर्व, बालगृहका प्रमुख राम प्रसाद अर्याल, युवा समाजसेवी हरिश खनाल लगायत क्बलका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।