काठमाडौं। तालिबानले आइतबार राती आफ्ना सयौं लडाकु पंजशील कब्जा गर्न निस्किइरसकेको बताएको छ ।
यो अफगानिस्तानको एकमात्र यस्तो प्रान्त हो जहाँ तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन । काबुलको उत्तरमा रहेको पंजशीर तालिबान विरोधीहरुको गढ हो ।
यो प्रान्तको नेतृत्व अहिले पूर्व मुजाहिदीन कमाण्डर अहमद शाह मसुदका छोरा अहमद मसुदको हातमा छ । अल कायदाले २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी आक्रमण गर्नुभन्दा २ दिनअघि अहमद शाह मसुदको हत्या गरेको थियो ।
तालिबानले आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गरेको छ ‘स्थानीइ अधिकारीले शान्तिपूर्ण तरिकाले पंजशीर प्रान्त हामीलाई नदिएपछि इस्लामी इमिरेट्सका सयौं मुजाहिदिन त्यसलाई नियन्त्रण गर्नको लागि बढिरहेका छन् ।’
राजधानी काबुलमा तालिबानको कब्जापछि हजारौं जनता पंजशीरतिर गएका छन् । मसुदको नेतृत्वमा रहेको तालिबान विरोधी बलका अनुसार उसले तालिबानसँग युद्धको लागि करिब ९ हजार लडाकुहरुलाई जम्मा गरेको छ ।
मसुदले साउदी अरबको मिडिया प्रसारक अल अराबियासँग कुरा गर्दै पंजशीरमा कैयौं अफगानी प्रान्तका सुरक्षा बल भागेर आएको बताएका छन् । उनीहरु अफगानिस्तानको रक्षाको लागि तयार भएको उनले बताए ।