पत्रकारलाई फसाउन लागुऔषध राखिएको घटनामा रौतहटका प्रहरी प्रमुखकै संलग्नताको आरोप लागेपछि छानबिन अगाडि बढाइएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा छानबिन समिति गठन गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । रौतहटका एसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारी मुक्त गरिने भएको स्रोतले जानकारी दिएको छ ।
‘उहाँलाई आजै जिम्मेवारी मुक्त गरिन्छ तर कहाँ तान्ने भन्ने निश्चित भइसकेको छैन’, स्रोतले भन्यो ।
पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध राखिएको घटना रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहकै योजनामा भएको आशंका गरिएको हो । एसपी शाहले यो घटना लगतै घटनाका अभियुक्तसँग गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि उनी शंकाको घेरामा परेका हुन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरेको छ ।
गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो । तर घटनामा उनीहरुको संलग्नता नदेखिएको र प्रहरीकै संलग्नता रहेको भन्दै दुवै पत्रकारलाई सोमबार छाडिएको छ । सोमबार नै घटनामा संलग्न रहेको पाइएपछि दुई प्रहरीलाई निलम्बन गरिएको थियो । तर एसपीले घटनामा संलग्नसँग गरेको कुराकानीमा उनकै योजनामा भएको देखिएपछि प्रधान कार्यालयले छानबिन थालेको हो ।