सङ्खुवासभाको मादी नगरपालिका-१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेकाहरुको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढीखोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिएका हुन् ।
बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएपछि बूढीखोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमलाई उद्धृत गर्दै राससले जनाएको छ । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आइपुगेका थिए ।
मादी नगरपालिका-१ उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, तेजबहादुरकी ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
घटनाको थप अनुसन्धान गर्ने प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसी सामूहिक हत्या भएको घटनास्थल मादी–१ खोलागाउँमा पुगेका छन् । विभत्स हत्याको घटना रहस्यमयी बन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी बुधबार साँझ मादी पुगेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।
प्रहरी नायब महानिरीक्षक बीसीले घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको जानकारी लिएका बताइएको छ । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुऱ्याउन प्रहरीको सक्रिय रुपमा लागेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनी आफैंले अनुसन्धानको नेतृत्व लिएपछि घटनामा चाँडै सफलता प्राप्त हुने अपेक्षा गरिएको छ ।
परिवारै सखाप बनाएको घटनापछि मादी-१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीयवासी रणबहादुर कार्की बताउँछन् । घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए । घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीयवासी कार्कीको भनाइ छ । तालिमप्राप्त कुकुरले समेत पत्ता लगाउन नसक्दा अझै रहस्यमय भएको बताएका छन् । प्रहरीले घटनाका बारेमा कुनै नयाँ सङ्केत फेला नपारेको स्थानीयवासीले आरोप लगाएका छन् ।
















































