काठमाडौँ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौँ आइपुगेको छ ।
उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन् ।
नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौँ आएको स्रोतले जनाएको छ । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।