नेपालगञ्ज। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्विकार्य नभएको बताएका छन् । शनिवार नेपालगञ्जमा आयोजित युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो दल र आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताए ।
उनले भने ‘हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं कि यो परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गरिने छैन।’
नेपाल र नेपाली जनताको हितमा रहने सबै प्रकारका अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको सम्मान गर्दै आएको र गर्ने जनाउँदै उनले कुर्सी र सत्ताका लागि जे पायो त्यही गर्ने काम आफूहरुबाट नहुने विश्वास दिलाए । संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बताए । उनले अहिले देशमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थि गठबन्धन गरेर दुईवटा गठबन्धन रहेको जनाउँदै दक्षिणपन्थीहरु विस्तारै विलाएर जाने बताए ।
उनले केपी ओलीले विदेशीसंग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि मात्रै दुई पटक प्रतिनिधिसभा भंग गर्नुका साथै संघीयता समेत समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाए । नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले नेकपा एकिकृत समाजवादी गठन गरेको जनाउँदै अध्यक्ष नेपालले यो पार्टीको गठनसंगै देशभरी नयाँ तरंग फैलिएको बताए ।
पार्टी गठन गरेपछि पहिलो पटक नेपालगञ्जको भ्रमणमा आएका नेता नेपालले बाँकेमा पार्टीको जिल्ला कार्यालयको उदघाटनसंगै कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न वर्गीय संगठनका अगुवाहरु तथा पार्टी नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरेका छन् ।