काठमाडौं। प्रतिनिधि सभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले अवरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते १:०० बजे सम्मका लागि बैठक स्थगित गरेका हुन्।
आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर नाराबाजी गरेका थिए। सभामुख सापकोटाले पटक-पटक अवरोध रोक्न आग्रह गर्दा पनि नाराबाजी जारी राखेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
दोस्रो पटक सुरु भएको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजीलाई निरन्तरता दिए। सभामुखले बैठक सञ्चालनका लागि पुन: आग्रह गरे पनि उनीहरुले मानेनन् र अन्त्यमा बैठक मंगलबारसम्मका लागि स्थगित गरियो।