काठमाडौँ। प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीकै बीच सुरु भएको आजको बैठकमा ‘विनियोजन विधेयक २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेपछि बैठक ४ असोजसम्मका लागि स्थगित भएको हो।
आज पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए। तर, एमाले सांसदको अवरोधबीच बैठक कार्यसूचीमा प्रवेश गरेका थियो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले भाग लिएका थिए । उक्त विधेयकलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरेर बहुमतले स्वीकृत गरेको घोषणासमेत गरे ।
यस्तै बैठकले दुई वटा शोक प्रस्ताव समेत पारित गरेको छ।
प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते सोमबार विहान ११ बजे बस्ने छ।