काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव कुमार नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने दाबी गरेका छन् ।
मंगलबार बिर्तामोडमा आयोजित झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले फुटाएर जानेलाई जनताले भोट नहाल्ने बताए ।
उनले भने ‘माधव नेपालले त वडा अध्यक्ष त के वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले किन भोट हाल्ने, एमाले फुटाएको भएर ?’ त्यस्तै नेकपा एमाले पार्टी माधव नेपालले बनाएको पार्टी नभएको पनि उनको आरोप छ ।
‘माधव नेपालले पार्टी बनाएको ? होइन पार्टी फुटाउन खोजेको हो । फुटाउन खोज्नेले बनाउन खोज्छ ?’ उनले भने, माधव नेपाल एमाले नेतृत्वको कम्युनिष्ट आन्दोलनमा जोडिएको तर, अहिले छुट्टिएको उनको भनाइ छ ।