नेपाली कांग्रेस (बीपी)को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको सो पार्टीले जनाएको छ ।
ने.का. (बीपी)को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ । विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ ।
कांग्रेस (बीपी)को शुक्रबार सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको छ ।
विशेष महाधिवेशन सम्पन्नपछि चयन भएका पार्टी सभापति शेरचनले ने.का. (बीपी)ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्मरण रहोस्, नेपाली कांग्रेस (बीपी) नामक दलको स्थापना विसं २०७२ भदौ २४ मा भएको हो । नेपाली कांग्रेसले बाटो बिराएको भन्दै जननायक बीपीको आदर्शप्रति निष्ठावान कांग्रेसजनहरु मिलेर सो पार्टी गठन गरेका हुन् ।