नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी फुटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विक्षिप्त बनेको टिप्पणी गरेकी छन् ।
जनकपुरधाममा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले एमाले ढल्ने स्थितिमा पुगेको भन्दै ओली आत्तिएर गालीगलौचमा उत्रिएको बताइन् ।
‘ढल्नै लागेका कारण उहाँ विक्षिप्त हुनुहुन्छ । आत्तिनुभएको छ । गालीगलौचमा उत्रिनुभएको छ । धेरै हतास मनस्थितिमा पुग्नुभएको छ’ उनले भनिन्, ‘हामी त आराममै छौं । हामी किमार्थ पनि हतोत्साहित छैनौं ।’
उनले प्रश्न गर्दै भनिन्, ‘यदि केपी ओलीलाई हामीबाट धक्का लागेको छैन भने हाम्रो बाटो किन छेकिराख्नुभएको छ?’
शनिबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केपी शर्मा ओली सच्चिने कुनै सम्भावना नरहेको टिप्पणी गर्दै संघीय संसद् र प्रदेशसभा दुवै निर्वाचनमा एमाले भत्किएर जाने दाबी गरिन्।
संघ र प्रदेशको निर्वाचनको प्रक्रिया सुरु भएपछि सामान्य विद्रोह नभई पहिरो जाने झाँक्रीले जिकिर गरिन्।
दुईदुईपटक संसद् विघटन गर्नेजस्तो गैरजिम्मेवार, असंवैधानिक र अपराध गर्ने काम ओलीले गरेको आरोप नेता झाँक्रीले लगाइन्।
उनले संविधानको रक्षा तथा लोकतन्त्रलाई प्रवर्द्धन गर्दै संसदलाई पूर्ण कार्यकाल सञ्चालन गर्नका निम्ति आफूहरूले विद्रोह गरेको बताइन्।