नवलपरासी । नेपाल भारत सिमावर्ती क्षेत्रका पत्रकारद्वारा स्थापना गरिएको इन्डो-नेपाल बोर्डर पत्रकार संघको आयोजनामा पत्रकारिता विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भारत बिहारको पश्चिमी चम्पारणमा आयोजित पत्रकार अन्तरक्रियामा नेपाल-भारत सिमावर्ती क्षेत्रका डेढ दर्जन सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा सिमाक्षेत्रमा हुने गैरकानुनी क्रियाकलाप, लागुऔषध रोकथामलगायत मुद्दाहरुमा छलफल केन्द्रित रहेको भारत बिहार बगहाका वरिष्ठ पत्रकार माधवेन्द्र पाण्डेले जानकारी दिए ।
२०७५ सालमा स्थापना भएको इन्डो-नेपाल बोर्डर पत्रकार संघमा आबद्ध नेपाल र भारतका पत्रकारहरूको हकहित संरक्षण गर्दै स्थानीय मुद्दालाई पनि उजागर गर्ने उद्देश्यका साथ अगाडि बढ्ने धारणा कार्यक्रम सहभागी पत्रकारहरुले राखेका थिए ।
अन्तरक्रिया कार्यक्रमकै बीच पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुल्नुभएका घटना र विचार साप्ताहिकका विशेष सम्वाददाता आरपी उपाध्याय लगायत चार भारतीय पत्रकारहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
इन्डो–नेपाल बोर्डर पत्रकार संघका अध्यक्ष भारतीय पत्रकार कौशल किशोरको अध्यक्षतामा आयोजित कार्यक्रममा भारत बिहारका विभिन्न सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूको सहभागिता रहेको पत्रकार नथ्थु शर्माले जानकारी दिए ।