कपिलवस्तु । साझा न्यूज
यशोधरा गाउंपालिका अन्र्तगतका विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताहरुले चालु आर्थिक वर्षमा सरकारले तोके अनुसारको मासिक १५ हजार तलब पाउनु पर्ने माग गरेका छन् । बाल विकास सहयोगी कार्यकर्ताहरु गाउं कार्यपालिकाको कार्यालय बैदौली पुगी गाउंपालिका प्रमुख गिरिजेश कुमार पाण्डेय समक्ष तलब बृद्धिको माग पत्र बुझाएका हुन् ।
सरकारले बालविकास सहयोगी कार्यकर्ताहरुको तलब १५ हजार पुर्याउनु पर्ने केन्द्रिय निति पारित गरे पनि गाउंपालिकाबाट भने मासिक १२ हजार रुपैया मात्रै तलब दिने निर्णय प्रति आफुहरु दुखी रहेको बताए । जिल्ला भित्र वाणगंगा नगरपालिका, मायादेवी गाउंपालिका र शुद्धोधन गाउंपालिका लगायतका स्थानीय तहले मासिक १५ हजार तलब पुर्याएको छ ।
सोही अनुसारको तलब सुविधा आफुहरुले पनि पाउनु पर्ने अनिरुद्ध पब्लिक मा.वि.यशोधराकी सहयोगी कार्यकर्ता साधना शर्माले बताईन् । यशोधरा गाउंपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयले सहयोगी कार्यकर्ताहरुको माग प्रति आफुहरु सकारात्मक रहेको बताए ।