साझा न्यूज । कपिलवस्तु
नेपाली कांग्रेस कपिलवस्तु नगर सभापतिको पदमा १ महिला सहित ४ जना प्रतिस्पर्धीहरु प्रचार प्रसारमा जुटेका छन् । खुर्सेद अहमद खां, प्रशान्त कार्की, गोपीकृष्ण शर्मा र माया ज्ञवाली नगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा जुटेका हुन् ।
यी ४ जना उम्मेदवारहरु मध्ये आफु बलियो उम्मेदवार रहेको नेता खुर्सेद अहमद खांले दावी गरेका छन् । आफु लाई कपिलवस्तु नगरपालिकाको १२ वटा वडाका अधिकांश बुथ सभापति तथा प्रतिनिधीहरुको समर्थन गरेका छन्, नेता खांले भने “कपिलवस्तु नगरका बुथ सभापति र सवै क्षेत्रीय प्रतिनिधीहरुसंग मेरो वर्षौको पुरानो सम्वन्ध छ । पटक पटक उहांहरुसंग भेटघाट र संवाद अघि बढाएको छु । उहांहरुकै सहयोग र समर्थनबाट म अघि बढेको हुं ।”
नगर सभापतिको दौडमा रहेका अर्का उम्मेदवार गोपीकृष्ण शर्मा पनि आम मतदाता तथा युवाहरु विच लोकप्रिय युवा नेता मानिन्छन् । प्रहरी प्रशासन लगायत स्वास्थ्य शिक्षा सवै निकायमा कार्यकर्ताहरुको काम गर्न सबल र सक्षम नेताको रुपमा उनलाई कार्यकर्ताहरुले लिएका छन् । अहिले सम्म आफु पार्टीको कुनै पदमा नरही कार्यकर्ताहरुको कामकाज गर्दै आए, आगामी दिनमा नगर सभापतिको रुपमा रहेर कार्यकर्ताको सेवा गर्ने मन छ, नेता शर्माले भने, “यस पटकको निर्वाचन मैले जित्छु ।”
हाल सम्मका नगर सभापति प्रशान्त कार्कीले आफु निरन्तर रुपमा संगठन विस्तारको काममा लागेका कारण एक पटक आफुलाई सबैले सहयोग गर्नु पर्ने उनले बताए । नगरपालिका क्षेत्रका सवै वडामा आफु सक्रिय भई लागेको उनले बताए । यो निर्वाचन म जसरी पनि जित्छु, मैले संगठन गरेको छु, नेता कार्कीले भने, “आफुले संगठन गर्दै हिडेको कार्यकर्ताहरुले मुल्यांकन गर्ने छन् ।”

निर्वाचनका बारेमा बुथ सभापतिहरु लगायतका नेताहरुसंग छलफल गर्दै उम्मेदवार खुर्सेद अहमद खां
कपिलवस्तु जिल्लाकै १० वटा वडाहरुमा महिलाको उम्मेदवारी छैन । त्यसकारण पनि आफुलाई कपिलवस्तु नगरमा सभापतिको रुपमा उम्मेदवारी दिएको अर्की प्रतिस्पर्धी माया ज्ञवालीले बताईन् । महिलाहरुले पनि नेतृत्व लिन सक्छन् भन्ने सन्देश दिन पनि म चुनावी मैदानमा उत्रिएकी छु, नेतृ ज्ञवालीले भनिन्, “ कांग्रेसको राजनैतिक नेतृत्वमा महिलाहरुलाई पनि स्थान दिनु पर्छ । यसको मुल्यांकन आम बुथ सभापति र क्षेत्रीय प्रतिनिधीहरुले गर्नु हुने छ । म पूर्ण आशावादी छु, जित मेरै हुन्छ ।”
















































