–रिदेन महर्जन
के महंगी बृद्धिले जनताको जीवनस्तर माथि उकासिन्छ ? पक्कै पनि जनताको जीवनस्तर माथि उकासिदैन, अहिले सम्पूर्ण नेपाली जनताको चिन्ता र चासोको विषय बनेको छ महंगी बृद्धि । कसरी धान्ने जीवन ? सामान्य रुपमा हेर्दा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको छ । गरिब जनताले पेट्रोल, डिजेल किन्नु पर्दैन, त्यसैले सर्वसाधारणलाई पेट्रोल, डिजेलको मुल्यबृद्धिले फरक नपर्ने जस्तो देखिन्छ । तर अहिले पेट्रोलियम पदार्थको मुल्यबृद्धिले गर्दा सबै उपभोग्यबस्तुको मूल्यबृद्धि भएको छ । महंगीले गर्दा दैनिक पेट पाल्ने ज्याला मजदुरी गर्ने श्रमिकबर्ग हातमुख जोड्न समेत धौ—धौ भइरहेको छ । यसमा सरकारले कहिले ध्यान पु¥याउने । सरकारको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ बतासे नारा जस्तै बनिसकेको छ । जनताले धान्नै नसक्ने गरी मूल्यबृद्धि गरेर सुखी नेपाली हुन्छन् ?
नेपालमा नेपाली जनतालाई सुखी बनाउने हो भने आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक हुन्छ । त्यसका निम्ति नेपालको विकासको पूर्वाधार जलसम्पदाको सदुपयोग तर्पm सरकारको ध्यान आकर्षित हुनुपर्छ । जलसम्पदाको सदुपयोग नै नेपालको समृद्धि हो । नेपालको समृद्धिबाटै नेपाली जनता सुखी बन्ने हुन् । तर सरकारको गन्तव्य यसतर्पm देखिदैन ।
बास्तवमा भन्ने हो भने महंगीले देश र जनताको हित गर्दैन । यसले केवल लुटेरा व्यापारीहरुको हित गर्छ । लूटतन्त्र, आतंक, कालाबजारी, भष्ट्राचारलगायतका बिकृतिहरुलाई संरक्षण गर्ने महंगीबृद्धिले देशको उन्नति हुन सक्दैन । महंगीबृद्धिलाई सरकारले आफ्नो नियन्त्रणमा राख्न प्रयास गर्नुपर्छ । त्यसको निम्ति पनि आत्मनिर्भर अर्थतन्त्र आवश्यक हुन्छ ।
योगगुरुको आवरणमा नेपाल पसेका भारतीय विवादास्पद ‘योगगुरु’ राम देवले ल्याएको प्रस्तावलाई सरकारले समर्थन जनाई नेपाली भूमि निःशुल्क रुपमा उपल्ध गराउने भएको छ । यो चर्चाले नेपाली जनताको सुखी बन्ने सपना तुसारापात भएको छ । सरकारले जल, जंगल र जमिनमुनीको खनिज पदार्थ सबै विदेशीहरुलाई लुटाउने काम गरिरहेको छ । नेपालको विकासको पूर्वाधार के हो ? विदेशीको आशा गर्नु बाहेक अरु केही बाँकी नरहनेगरी नेपाललाई सरकारले कंगाल बनाउने काम गरिरहेको छ ।
महंगीको समस्या समाधानतर्पm ध्यान नदिई नेपालको जग्गा विदेशी व्यापारीलाई दान दिन किन लालयित भयो पाँचदलको सरकार ? यसको जवाफ तीन करोड नेपाली जनताले पाँचदलका नेताहरुबाट खोज्ने छन् ।
आगामी चैत महिनामा स्थानिय चुनाव हुँदैछ, जनतामा चौतर्फी बितृष्णा छाएको छ । आखिर भोट कस्को लागि ? के भोट दिएर जनताको जीवनस्तर माथि उकासिन्छ ? कुन दलको कुन नेताले बिजय हासिल गरेपछि महंगी नियन्त्रण हुन्छ ? आशा गर्ने ठाउँ छैन । निर्वाचनपछि थप मूल्यबृद्धि हुने निश्चित छ ।
यसैसिलसिलामा महंगीको विरोधमा अखिल क्रान्तिकारीको आर.आर.क्याम्पस कमिटीले गत आइतबार सडकमै दाउराको आगो बालेर भात र गुन्द्रुक पकाएर नयाँ तरिकाको विरोध गरेको छ । यो विरोध सांकेतिक विरोध हो । जनतालाई चौतर्फी मूल्य वृद्धिका कारण चुलो बाल्न अफ्ठ्यारो भएको भन्दै दैनिक उपभोग्य बस्तु जनताको पहुँच भन्दा बाहिर गएको देखाउन खोजिएको यो सडकमा भात पकाउने अभियान सरकारको निम्ति ठूलो खबरदारी हो । अखिल क्रान्तिकारीका आर.आर.क्याम्पस कमिटी अध्यक्ष शिशिर बश्यालले हामीले नेताहरुलाई सजग गराएको मात्र हो भन्दै सम्पुर्ण दैनिक उपभोग तथा अत्याआवश्यक वस्तुमा विधार्थीलाई सहजता दिने गरी सरकारले व्यवस्था गरोस् भन्ने दबाब मात्र हो । तसर्थ महंगी नियन्त्रणमा ढिलाई नगरौं, मंहगीको विरुद्धमा उत्रिएको जनताको मन शान्त पार्न उपाय अपनाऔं, बिलम्ब नगरौं, आयाल निगम घेरेका नेपाली जनताले सिंह दरवार र बालुवाटार पनि घेर्न सक्छन्, सरकार समयमै सचेत बन्न जरुरी छ । -जनधारणा साप्ताहिकबाट