काठमाडौ – नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । काठमाडौँको कमलादीमा जारी महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो ।
सहमतिबाट केन्द्रीय समितिको टुंगो लगाउन बन्दसत्र बेलुका ५ बजेसम्मका लागि स्थगित गरिएको थियो । महाधिवेशनबाट आजै केन्द्रीय समिति टुङ्ग्याउने माओवादीको तयारी छ । छलफलबाट सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन मतदाता नामावली टाँसिएको छ । निर्वाचन प्रक्रियामा १ हजार ७४२ जना प्रतिनिधिको नाम टाँस गरिएको छ ।
विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।
















































