काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा श्रीकृष्ण गिरी चढेको गाडी तोडफोड भएको छ ।
आयोगको कार्यालय भक्तपुर सानोठिमी जाँदा बिहीबार बिहान ११ बजे काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडि काँडाघारीमा गिरी चढेको प्रदेश ३–०१ ००२ झ ४९१५ नम्बरको गाडीलाई ढुंगा प्रहार गरिएको सदस्य सचिव भोजराज काफ्लेले जनाए । ढुंगाले गाडीको पछाडिको सिसा फुटेको छ ।
आयोगले विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । गिरीमाथि नै आक्रमण गर्ने उद्देश्यले आक्रमण गरिएको आयोगले जनाएको छ । ‘घरबाट अफिस जाँदै थिए, गाडीमा चालक र ममात्र थियौं,’ गिरीले भने, ‘एक्कासी ढुंगा गाडीमा आएर ब्रजेपछि सिसा फुट्यो र ढुंगो म बसेको सिटमा आएर ठोकियो ।’ कसले ढुंगा प्रहार गर्यो भन्ने खुलेको छैन ।