कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ स्थित खुतखुते सामुदायिक वनमा लुकाइराखिएका चार नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
वनको लहरे उकाली भन्ने स्थानमा बन्दुक लुकाएर राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा ती बन्दुक फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा खटिएको नौ सदस्यीय टोलीले काठको गोलियाको खोक्रो भागमा स्याउला र पातले छोपेर राखिएको अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरेको हो।
बरामद सबै बन्दुक साबुत अवस्थामा रहेको प्रहरीले जनाएको छ। ती बन्दुक आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पिपरामा राखिएको छ।
उक्त स्थानमा बन्दुक कसले र किन लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो।
















































