काठमाडौं । सशस्त्र प्रहरीले बाराबाट झण्डै तीन लाख नक्कली नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका-७ पिपरियाका किशोरी साह छन् । ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनलाई बाराको सिम्रौनगढ नगरपालिका २ नइकाटोला बजारदेखि हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा उनको साथबाट एक हजारको २९६ वटा अर्थात २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरले जानकारी दिए ।
उनको साथबाट १२ हजार १४५ रुपैयाँ सक्कली नेपाली रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ । साहलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको डिआइजी मगरले बताए ।