काठमाडौं । तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द हटाइ धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको हो ।
तर बतास समूहले पत्र बुझ्नसमेत अस्वीकार गरेको कोषका सदस्य सचिव डा. मीलनकुमार थापाले बताए । ‘मन्त्रालयको निर्देशनपछि धर्मशाला खाली गर्न पत्राचार गर्दा बुझन मान्नुभएन’ उनले भने । शुक्रबार र शनिबार सार्वजनिक बिदा परेकाले थप निणर्यका लागि आइतबार कुर्नु परेको भनाइ उनको छ ।
होटल आनन्द कोषले तोकेको मापदण्ड र सम्झौताविपरीत भएकाले हटाउनु परेको दाबी मन्त्रालयको छ । यसअघि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडा सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्दसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो । गोरखापत्र दैनिकबाट