उदयपुर । कोचिङ कक्षा लिन विद्यालय जाँदै गरेकी कविता सुनुवारको हत्यामा संलग्नहरूलाई सार्वजनिक नगरिएसम्म परिवारले शव नबुझ्ने भएका छन् ।
उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशोदाखोलामा विभत्स रूपमा हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
शव फेला परेको २४ घण्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् । उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म शव जिम्मा नलिने अडान लिएका छन् । हत्या आशंकामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएको छ ।
हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल सार्वजनिक पनि गर्नुपर्ने माग गरेका छन् । कोशी जनता माध्यामिक विद्यालय रामपुरका विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध चोकमा प्रर्दशन गरिरहेका छन् ।
सुनुवारको हत्या आशंकामा सोही ठाउँकी कक्षा १० मा पढ्दै गरेकी कविताकी सहपाठी एक किशोरी र किशोरलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका-३ स्थित जितबहादुर ढकाल (खत्री) को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।
बेलका नगरपालिका-६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृत अवस्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।
घटनास्थल विद्यालयदेखि करिब सात सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको छ । उनलाई बियरको बोतल र ढुंगाले हिर्काएर हत्या गरिएको अनुमान गरिएको छ । घटनास्थलबाट बियरका बोतर र रगत लागेको ढुंगा बरामद भएको छ ।
मृतक किशोरीको टाउकोमा गहिरो चोट लागेकाले कुटपिटपछि हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी अध्यायनरत विद्यालयले बुधबार शोकसभा आयोजना गरेको छ ।