निवर्तमान गृहमन्त्री एवम् रास्वपाका अध्यक्षले आफूमाथि लागेको लाञ्छनाबाट आम मानिसको ध्यान हटाउन नेपालका केही सञ्चारमाध्यम तथा सम्बद्ध लगानीकर्ता र पत्रकारविरूद्ध गम्भीर आरोप लगाएका छन् । उनले आफ्ना विरूद्ध सामाग्री सम्प्रेषण गर्ने सञ्चारगृहका मालिक र पत्रकार तथा सञ्चारकर्मीविरूद्ध नामै किटेर पत्रकार सम्मेलनमार्फत गत आइतबार सार्वजनिक गरेपछि त्यसले मुलुकमा कम्पन पैदा गरेको छ ।
मुलुकको बर्बादीमा सञ्चार क्षेत्रको समेत हात रहेको भन्दै निवर्तमान गृहमन्त्रीले अन्नपूर्ण मिडिया हाउसका मालिक रामेश्वर थापा, कान्तिपुरका मारवाडी मालिक कैलाश सिरोहिया र सञ्चारकर्मी दिलभुषण पाठक, सेतोपाटीका अमित ढकाल, रिपोर्टर्स क्लबका ऋषि धमला, हिमाल खबरका कनकमणी दीक्षित, नागरिक दैनिकका गुणराज लुइँटेल, अनलाइन खबरका शिव गाउँले, धर्मराज भुसाललगायतमाथि विभिन्न अपराध गरेको र ब्ल्याकमेलिङ गरि अनुचित लाभ लिने गरेको जस्ता आरोप लगाएका छन् । साथै, उनले मिडियाको ज्यादती अति भएको बताउँदै यिनलाई तह लगाउनुपर्ने धारणा प्रकट गरेका छन् ।
यसरी सञ्चार ब्यवसायी एवम् सञ्चारकर्मी र पत्रकारमाथि आक्रामक रूपमा प्रस्तुत भएका उनका कुरामा आम नागरिकहरूको समेत समर्थन रहेको पाइएको छ । उनले प्राप्त गरेको समर्थन र सहानुभूतिले नेपालका मिडिया र मिडियाकर्मी तथा ब्यवसायीहरूप्रति आम मानिस असन्तुष्ट रहेको देखाएको छ । तर, गृहमन्त्रीसमेत भइसकेका एउटा पार्टी अध्यक्ष जुन रूपमा अपरिपक्व ढङ्गले प्रस्तुत भए त्यसलाई भने अस्वाभाविक मानिएको छ । आलोचनात्मक सामाग्री सम्प्रेषण गर्नेहरूमाथि आक्रमण गर्नेसम्मका चेतावनी दिनुले सम्बद्ध व्यक्तिको मानसिक स्तर स्पष्ट भएको ठानिएको छ ।-घटना र विचारबाट