Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माटोको स्वास्थ्य र स्वस्थ माटोको महत्त्व

Author Avatar साझा न्यूज 31st March 2023 , 4:39 PM
माटोको स्वास्थ्य र स्वस्थ माटोको महत्त्व

फाइल तस्बिर

डा। दिनेश पाण्डे र लक्ष्मी चौलागाईँ

चाहे ठूलठूला आलुका बीउ हुन या त स–साना तोरीका गेडा, कुनै पनि बाली लगाउनुपहिले सबैभन्दा महत्त्वपूर्ण काम हुन्छ खनजोत गर्नु । खनजोत प्रकृया बीउ अङ्कुरण र माटोमा बेर्ना बलियो गरी उभिनका लागि निक्कै महत्त्व हुन्छ । हामीमा यो विश्वास पनि छ कि यसले हावा र पानीको सहज प्रवाह गर्नुका साथै माटोमा न्यानोपन प्रदान गरी बीउ अङ्कुरणको लागि उपयुक्त वातावरण दिन्छ । यद्यपि अधिक (सघन) खनजोत गर्नाले माटोमा असर पनि पुर्याइरहेको हुन्छ । जसप्रति हामी या हाम्रा किसानको खासै ध्यान गएको देखिँदैन ।

खनजोत प्रकृयाले जोतिएको माटोको सूक्ष्मकणहरू र साना छिद्रहरू चलायमान हुन्छन् । यसले प्राकृतिक माटोको संरचनालाई नष्ट गर्न सक्छ र माटोको समुच्चयलाई कमजोर बनाउँछ । फलतः क्षरण र सङ्घनन (कम्प्याक्शन) को जोखिम बढ्नुका साथै बिरुवाको जराको वृद्धिमा बाधा पुर्याउँछ । अन्ततः माटोको स्वस्थ बिग्रन्छ र बाली उत्पादनमा ह्रास आउँछ ।

माटो के हो ?

माटो समुच्चय स–साना कणहरुको समूह हो । यी कणहरु जैविक पदार्थ र एक विशेष प्रकारको माटो (चिम्टे माटो) द्वारा एकअर्कासँग जोडिएका हुन्छन् । सजिलो भाषामा भन्नुपर्दा माटो समुच्चय माटोको कणहरुको एकीकृत रुप अर्थात् माटोको डल्लो हो । वास्तवमा समुच्चय माटो संरचनाको आधारभूत एकाइ हो, जसले माटोको भौतिक उर्वरता निर्धारण र कायम गरेको हुन्छ । माटोमा सामान्यतः तीन प्रकारका गुण हुन्छन जसले माटोलाई उर्वर र उत्पादनशील बनाइराखेका हुन्छन् । ती गुण भौतिक, रासायनिक र जैविक हुन् । तर सघन खनजोतका कार्यहरू अपनाउँदा माटो समुच्चय टुक्रिन्छ र भौतिक उर्वरतामा हानी पुग्छ ।

फलस्वरुप माटोको माथिल्लो तहमा क्षरण बढ्छ भने पोषक तत्वहरु माटोका कणसँगै बगेर जाने खतरा हुन्छ । माटो क्षरण हुनु भनेको माटोका स–साना कणहरु पानीसँग बगेर या त हावासँगै उडेर जानु हो । यसो हुनु माटोको स्वास्थ्यको दृष्टिकोणले गहन चिन्ताको विषय हो । खेतबारी तयार गर्दा अति–आवश्यक मानिने खनजोत प्रकिया साँच्चै हानिकारक अभ्यास पनि हुन सक्छ । यी समस्याबाट जोगिन नसकिने होइन, त्यसका लागि माटो स्वस्थ बनाउनु जरुरी छ । मुख्य प्रश्न माटोको स्वास्थ्य के हो र स्वस्थ माटो भनेर केलाई चिन्ने त ?

माटोको स्वास्थ्य

‘माटोको स्वास्थ्य’ गएको दशकमा कृषि र वातावरणीय क्षेत्रहरूमा अति उच्चारण गरिएको शब्द हो जसको प्रारम्भिक सन्दर्भ भने १०० वर्ष अघिदेखि नै सुरु भैसकेको थियो । यस बीचमा माटोको स्वास्थ्य बुझ्न र बुझाउन धेरै परिभाषाहरु आएका छन् । त्यसबाट यो मान्न सकिन्छ कि माटोको स्वास्थ्यको बारेमा चेतना बढ्दै गएको छ, तर त्यो सँगसँगै हामी किन माटोको स्वास्थ्यको मतलब राख्छौँ, यसलाई कसरी मापन गर्ने र माटोले प्रदान गर्ने पारिस्थितिक सेवाहरूको इष्टतम् र दिगो वितरणका लागि कसरी व्यवस्थापन गर्ने भनेर बुझ्न पनि आवश्यक छ ।

कतिपयले माटोको स्वास्थ्यलाई माटोको गुणस्तरका रुपमा उच्चारण गर्ने नयाँ तरिका हो पनि भन्ने गर्छन् । तपाईँका मनमा पनि यो प्रश्न उब्जन सक्ला, माटोको स्वास्थ्य र माटोको गुणस्तर भनेका एउटै होइनन् र या उस्तैउस्तै अर्थ राख्दैनन् र ? त्यसैले माटो स्वास्थ्यमा जानु अघि माटोको गुणस्तरबारे थोरै चर्चा गरौँ ।

माटोको गुणस्तर

माटोको गुणस्तर एक विशिष्ट शब्द हो जसले माटोको एक विशेष प्रकार्य वा सामूहिक कार्यहरू प्रदान गर्ने क्षमतालाई जनाउँछ । अर्को भाषामा भन्नुपर्दा माटोको गुणस्तर भनेको माटोले प्रदान गर्ने सेवाको क्षमता हो जस्तै बाली उत्पादन गर्न सक्ने क्षमता, माटोका जीवहरुलाई उचित बासस्थान प्रदान गर्ने क्षमता लगायत । त्यसैले माटोले दिनुपर्ने सेवाहरु तत् (जसलाई कार्य पनि भन्न सकिन्छ) चाहे त्यो विरुवाको लागि होस् या त जनावर (मानवसहित) का लागि होस्, सही अनुपातमा दिने क्षमता राख्दछ भने त्यस्तो माटोलाई गुणस्तर माटोको संज्ञा दिन सकिन्छ ।

तसर्थ पनि माटोको गुणस्तरलाई मुल्याङ्कन या मापन गर्नु पूर्व माटोले प्रदान गर्ने कार्यात्मक विशेषतालाई चिन्न जरुरी छ । माथिकै उदाहरणलाई हेर्ने हो भने बाली उत्पादनको समर्थन/वा माटो जीवहरुको लागि बासस्थान प्रदान गर्ने क्षमताको आधारमा माटोको गुणस्तरलाई मूल्याङ्कन गर्न सकिन्छ । एक पटक माटोको विशिष्ट कार्यात्मक विशेषताहरू परिभाषित गरेपछि, यसलाई विभिन्न सूचकहरूद्वारा मापन पनि गर्न सकिन्छ । जस्तै, हामीले माटोको जैविक पदार्थ र बाली उत्पादनको लागि गुणस्तर थाहा पाउनु छ भने माटोको पोषक तत्वको स्थिति मापन गरेर माटोको गुणस्तर निर्धारण गर्न सकिन्छ । माटोको गुणस्तर थाहा पाइराख्न हाम्रो माटोलाई निरन्तर अनुगमन गर्नु जरुरी छ, जसका लागि माटो परीक्षण अपरिहार्य छ ।

यद्यपि हामीले गर्ने परीक्षणले मुख्यतया: बिरुवालाई चाहिने पोषक तत्वहरू प्रदान गर्ने माटोको क्षमतालाई मात्र केन्द्रित गरेको हुन्छ । यसरी समग्र माटोको गुणस्तर ननाप्ने हुनाले माटोको वास्तविक गुणस्तर भने हामिले थाहा पाइराखेका हुँदैनौँ । अरु चिजको गुणस्तर मापन गरे जस्तै: केवल बाली उत्पादन, पानीको गुणस्तर वा अन्य कुनै एकल परिणाम मापन गरेर माटोको गुणस्तर निर्धारण गर्न सकिँदैन । माटोको गुणस्तर हावा वा पानीको गुणस्तरबाट धेरै फरक छ, यो केवल माटो प्रदूषणको परिधिमा मात्र सीमित छैन । सामान्यतया माटोको गुणस्तरलाई माटोको भौतिक, रासायनिक र सूक्ष्मजीवविज्ञानी गुणहरूको अन्तरक्रियाले निर्धारण गरेको हुन्छ । माटोको अन्तर्निहित क्षमतालाई समायोजन गर्ने हो भने यी गुणहरूलाई किसानहरूले व्यवस्थित गर्न सक्छन् । त्यसैले यो भन्न सकिन्छ कि गुणस्तर माटो आंशिक रुपमा भए पनि स्वस्थ माटोको सङ्केत हो, माटोको गुणस्तर नै ‘माटोको स्वास्थ्य’ शब्दको ऐतिहासिक उत्पत्ति हो ।

माटो स्वास्थ्यको महत्त्व

माटोलाई गतिशील र जटिल जीवन प्रणालीको रूपमा चित्रण गर्न सकिन्छ । त्यसैले स्वस्थ माटोले जैविक उत्पादकत्वलाई कायम राखेको हुन्छ । माटो स्वास्थ्य भन्नाले माटोको जैविक, रासायनिक तथा भौतिक अवस्थालाई सन्तुलित राख्न सक्ने क्षमता हो, विशेषगरी माटोको त्यो क्षमता जस अनुकूल माटोले जैविक उत्पादकत्वलाई कायम राखेर वातावरणीय गुणस्तर प्रवर्द्धन गर्न, बोटविरुवा र जनावरहरूको स्वास्थ्य कायम राख्न, महत्त्वपूर्ण जीवन प्रणालीको रूपमा काम गर्न सक्छ, त्यस्तो माटोको क्षमतालाई माटो स्वास्थ्य भनिन्छ ।

माटोमा रहेका जीवाणु माटो स्वास्थ्यको अटल हिस्सा हो । माटोका जैविक घटकहरू जस्तै ब्याक्टेरिया, एक्टिनोमाइसेट्स, ढुशी, शैवाल, प्रोटोजोआ, नेमाटोड, माइट्स, कीराहरू, गँड्यौलाहरू र ठूला माटोमा बस्ने जनावरहरू, साथै बिरुवाको जरा र भूमिगत बिरुवाका भागहरू सहित, सबैले सामूहिक रूपमा उल्लेखनीय अन्तरक्रिया गरेका हुन्छन् । यी अन्तरक्रिया र यिनीभित्र हुने खाद्य जाली (फूड वेब) माटोको स्वास्थ्यका महत्त्वपूर्ण घटकहरू हुन् । माटोको जैविक घटकहरूले माटोको संरचना, क्षरण र पानीको उपलब्धतालाई पनि असर गरेका हुन्छन् । त्यसैगरी तिनीहरू विघटन गर्न (कुहिने प्रकृया), पोषक तत्व चक्र चलाउन, विषाक्त पदार्थहरूको विच्छेदन गर्न र हानिकारक कीटहरूको दमनका लागि पनि महत्त्वपूर्ण हुन्छ । विश्वको आनुवंशिक विविधताको ठूलो अनुपात माटोमा भएका स–साना जीवाणुहरुले निर्धारण गरेका हुन्छन् । हाम्रो बुझाइको गोलाईलाई फराकिलो बनाउने हो भने माटो स्वास्थ्यलाई ‘स्थिरता’ को निकट पर्यायवाची शब्द हो भन्दा फरक नपर्ला ।

मेरियम–वेबस्टर शब्दकोषका अनुसार ‘स्वास्थ्य’ भनेको ‘शरीर, मस्तिष्क वा आत्मा स्वस्थ हुनुको अवस्था हो ।’ हामीले स्वास्थ्यको यो परिभाषालाई माटोमा लागू गर्ने हो भने ‘माटो स्वास्थ्य’ लाई ‘माटोको भौतिक, रसायनिक र जैविक अवस्था, जसले जमिनमा रहेको बिरुवाहरूको वृद्धि र विकासलाई दिगो राख्न सक्ने क्षमता प्रदान गर्छ ।’ भन्दै पुनर्संरचना गर्न सक्छौँ । माथि उल्लेख गरेजस्तै माटो स्वास्थ्यको धेरै परिभाषाहरू छन्, माटोको स्वास्थ्य बुझ्न र समर्थन गर्न सजिलो होला तथापि, मापनको साथ यसलाई अपनाउन गाह्रो छ ।

अझ ठूलो चुनौती त यो छ कि किसानहरू, अनुसन्धानकर्ताहरू, घर मालिकहरू र संरक्षणकर्ताहरूले माटोको स्वास्थ्यलाई फरक दृष्टिकोणले हेर्न सक्छन् किनकि उनीहरूका लागि माटोको प्रयोजन या कार्यहरुले फरक फरक अर्थ राख्दछ । एक किसानको लागि माटोको प्राथमिक कार्य भनेको बाली उत्पादन हो त्यसैले उसका लागि माटोले पर्याप्त पानी साँच्नु, पर्याप्त पोषक तत्वहरू कायम राख्नु र दिगो बाली उत्पादन गर्न कीट/कीरा नियन्त्रण वातावरण प्रदान गर्नु नै स्वस्थ माटोको परिभाषा हो । एक सामान्य घर मालिकको लागि माटोको प्राथमिक कार्य भनेको उनीहरूको बगैँचाको लागि पोषक तत्वहरू प्रदान गर्नु हुनसक्छ । तपाईँको हुनुहुन्छ र तपाईँले माटो के को लागि प्रयोग गर्नुहुन्छ भन्ने कुरामा माटोको कार्य र माटोको स्वास्थ्य निर्भर गर्दछ । समग्रमा भन्नुपर्दा माटोको स्वास्थ्यले माटोको कार्यलाई सुधार गर्न चार सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्दछ । ती हुन्, जीवित जराहरूको उपस्थिति बढाउने, खेतमा खनजोत गर्ने कार्य कम गर्ने, माटोलाई धेरैजसो अधिकतम् ढाक्ने (छोप्ने) र जैविक विविधतालाई फराकिलो बनाउने । यिनै चार सिद्धान्तलाई निरन्तर पालना गर्ने हो भने माटो स्वस्थ हुन्छ र यसले दिने सेवाहरु दिगो हुन्छन् । फलतः किसानको बाली उत्पादन बढ्छ र वातावरण पनि सन्तुलित र स्वस्थ रहन्छ ।

माटोको स्वास्थ्य मापन

तपाईँ कुनै मेडिकल डाक्टरमा गएको पल सम्झिनुहोस् त : तपाईंहरुलाई याद आउन सक्छ तापमान, रक्तचाप, धड्कनको दर आदि मापन गर्ने यन्त्रहरू जसलाई व्यक्तिको समग्र स्वास्थ्यको मुख्य सूचकको रूपमा प्रयोग गरिन्छ । त्यसैगरी माटोको स्वास्थ्य मापन गर्ने पनि धेरै सूचकहरू छन्, जुन माटो प्रक्रियाहरूमा हुने परिवर्तनहरूप्रति संवेदनशील हुन्छन् । यस्ता सूचकहरुले माटोको जैविक, रासायनिक र भौतिक गुणहरूबीचको सम्बन्धलाई प्रतिनिधित्व गरेका हुन्छन्, जसलाई प्रयोग गरी हामी माटोको स्वास्थ्यबारे जानकर हुन सक्छौँ।

मानव स्वास्थ्यको स्थिति प्रदान गर्न अत्यावश्यक सङ्केतहरु प्रयोग गरे जस्तै माटोको अवस्था स्वस्थ भए/नभएको पत्ता लगाउन स्वास्थ्य सूचकहरू विकास गरिएका छन् । जसरी रुघाखोकी लाग्नु फ्लुको सूचक हुन सक्छ त्यसरी नै सुक्खा र पटपटी फुटेको देखिने माटो पानीको मात्रा या सङ्कलन कम हुनाले अस्वस्थ माटोको सङ्केत हुन सक्छ । यस्ता धेरै सङ्केतहरुलाई माटोको स्वस्थताको सूचकका रुपमा प्रयोग गरिँदै आएको छ । यद्यपि हामीले यी सूचक अपनाउँदा ध्यान पुर्याउन आवश्यक छ । जस्तै कि बलौटे माटो र चिम्टे माटो दुवै स्वस्थ हुन सक्छन्, तर तिनीहरूमा पानी र पोषक तत्वहरू स्पष्ट रूपमा फरक फरक मात्रामा हुन सक्छ, जसलाई फरक तरिकाको व्यवस्थापन आवश्यक हुन सक्छ र तिनीहरुको प्रयोगको सम्भावनाहरू पनि भिन्न हुन सक्छ । माटोको स्वास्थ्य मापन गर्ने कुनै पनि स्वीकृत, मानकीकृत तरिका छैन र यी सूचकहरूले सधैँ एकरूप परिणामहरू प्रदान पनि गर्दैनन् । यद्यपि विश्वव्यापी वैज्ञानिकहरूले माटोको स्वास्थ्य मापन बुझ्न र सुधार गर्न आफ्नो प्रयासहरू निरन्तर रूपमा लागि परेका छन् ।

माटो स्वास्थ्य स्कोरकार्ड

माटो स्वास्थ्यको मापन गर्नका लागि वैज्ञानिकहरुले एउटा नयाँ तरिका भित्र्याएका छन् । जसलाई माटो स्वास्थ्य स्कोरकार्ड (नतिजा समेटिएको पत्र) भनिन्छ । यसका धेरै संस्करणहरू छन्, यसले माटोको जैविक, रासायनिक र भौतिक गुणहरूको बारेमा सामूहिक जानकारी प्रदान गर्छ । जसमध्ये एक हो लोकप्रिय कर्नेल विश्वविद्यालयको माटो स्वास्थ्यको व्यापक मूल्याङ्कन विधि (यसले माटोको स्वास्थ्य मापन गर्ने सूचकहरूको समूह बनाउँछ र स्कोरकार्डबाट आएको नतिजालाई १ र १०० बीचको सङ्ख्यामा परिणाम दिन्छ जस्ले अत्यधिक अस्वस्थदेखि अत्यधिक स्वस्थसम्मको माटोको अवस्थालाई जनाउँछ । तर यो बुझ्न जरुरी छ कि माटो स्वास्थ्य मूल्याङ्कन प्रतिवेदनले सापेक्ष नतिजा मात्र प्रदान गर्दछ त्यसैले यसलाई माटो व्यवस्थापनको लागि सिधा सिफारिसका रुपमा लिन हुँदैन जस्तै कि मल सिफारिस ।

चासो हुन सक्छ : हामी आफैँले पनि केही गरी माटोको स्वास्थ्य बुझ्न सकिन्छ कि ? पक्कै सकिन्छ । खेती गरिएको माटो खनेर गँड्यौलाहरूको सङ्ख्या गणना गरेर आफ्नो खेतमा माटोको स्वास्थ्यको द्रुत मूल्याङ्कन गर्न सकिन्छ । जस्तै यदि खेतमा १० वटा गँड्यौला छन् भने त्यो माटोको स्वास्थ्य मूल्याङ्कन लागि राम्रो सङ्ख्या हो । त्यसैगरी आफ्नो खेती गरिएको माटोलाई अवाधित माटोसँग तुलना गर्न सकिन्छ ।

उदाहरणका लागि जरा कति गहिरो जान्छ, माटोको डल्लाहरु सजिलै फुट्छ कि फुट्दैन, आदि । माटोको रङ तुलना गर्दा पनि माटो स्वस्थ्यबारे बुझ्न सकिन्छ । गाढा रङ हुनु माटोमा अधिक जैविक पदार्थ वा जैविक कार्बन हुनुलाई जनाउँछ । अर्को शब्दमा यो माटोको स्वास्थ्यको राम्रो सङ्केत हो । यस्ता थुप्रै सूचकहरुको प्रयोग गरी सामान्य किसानले पनि आफ्नो माटो स्वस्थ भए/नभएको, स्वास्थताको अवस्थामा बदलाव आएको कुरालाई सजिलैसँग नियाल्न सक्छन् र समयमा नै उचित व्यवस्थापन प्रविधि प्रयोग गरी आफ्नो माटोलाई उर्जाशील, उर्वर, गुणस्तर र स्वस्थ्य बनाउन सक्छन् ।

अन्त्यमा,
स्वस्थ माटोले नै स्वस्थ खाना उत्पादन गर्छ । स्वस्थ खानाले मानिसहरूलाई स्वस्थ बनाउँछ, जसरी डाक्टरहरूले बिरामी हुँदा हाम्रो हेरचाह गर्छन् त्यसरी नै किसानहरूले आफ्नो जमिनको उचित हेरचाह र स्याहारले माटोलाई स्वस्थ राख्न सक्छन् । अन्ततः हामी आम जनमानसको स्वास्थ्यलाई पनि स्वस्थ खानामार्फत् सन्तुलित राख्न सक्छन् । तसर्थ माटोको स्वास्थ्यलाई प्राथमिकता दिने कृषि अभ्यासमा हाम्रा किसानलाई सामेल गराउनु आवश्यक छ । यसका लागि चाहिने आवश्यक प्राविधिक र आर्थिक सहयोग जुटाउन पनि उत्तिकै जरुरी छ र हामी सबै एकजुट हुन आवश्यक छ । आफ्नो माटोलाई माया गरौँ अनि माटोको स्वास्थ्यमा ध्यान दिउँ । साभार उज्यालो अनलाईन

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज