धादिङ, असार १८ गते । धादिङमा डेंगुका बिरामीको सङ्ख्या एक्कासी बढेको छ । वर्षात सुरु भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेसँगै डेंगुका बिरामी पनि बढ्न थालेका छन् ।
जिल्ला अस्पताल धादिङमा मात्रै पछिल्लो समय दैनिक तीन जनामा डेंगुको संक्रमण भेटिएको अस्पतालका सूचना अधिकारी रामचन्द्र रिजालले जानकारी दिनुभयो । जेठ पहिलो सातादेखि असार १७ गतेसम्म धादिङ अस्पतालमा उपचारको लागि आएकामध्ये ८८ जनामा डेंगु संक्रमण भेटिएको रिजालले बताउनुभयो ।
“दिनहुँ संक्रमणको दर बढ्दै गएको छ । खासगरी सदरमुकाम आसपासका क्षेत्रमा संक्रमणको संख्या बढ्दो छ । स्थानीय त्रसित बनेका छन् । ग्रामीण वस्तीहरुमा पनि डेंगुको संक्रमण फैलिएको छ”, रिजालले भन्नुभयो ।
धादिङ अस्पतालका डाक्टर माधव पौडेलका अनुसार अस्पतालमा जाँच गर्न आएकामध्ये दिनमा तीन जना जतिलाई डेंगुको संक्रमण भेटिने गरेको छ । डेंगु रोगको संक्रमण दिनहुँ बढ्दै गएकाले डेंगुको लार्भा खोजेर नष्ट गर्नु नै नियन्त्रणको सबैभन्दा उत्तम उपाय रहेको चिकित्सकहरु बताउँछन् ।
डेंगु संक्रमण भेटिएका अधिकांश बिरामीलाई भर्ना गरेर राख्नुपर्ने अवस्थामा अस्पताल आइपुग्ने पौडेलको भनाइ छ । संक्रमण भएपछि शरीरमा सेतो रगतको मात्रा घट्ने र पानी मात्रा कम हुने भएकोले बिरामीको अवस्था चाडै कमजोर बन्ने भएकोले भर्ना गर्नैपर्ने अवस्था आउने डा. पौडेलले जानकारी दिनुभयो ।
वर्खायाममा आकासबाट पानी पर्न थालेपछि खाल्डाखुल्डीमा पानी जम्ने र लामखुट्टेले डेंगुको संक्रमण फैलाउने गरेको पाइएको छ ।